पर्वत । पर्वतमा सातओटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिवारदेखि सबै पालिकामा मतगणना शुरू गरिएको छ । जिल्लामा हालसम्म २४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये १८ वडामा नेकपा एमाले विजयी भएको छ भने ६ वडामा नेपाली कांग्रेस विजयी भएको छ । परिणाम सार्वजनिक भएका २६ वडामध्ये जिल्लाको जलजला गाउँपालिकाका वडा नं १, २, ३ ४ र ५ वडामा एमालेका उमेदवार विजयी भएका छन् भने वडा नं ६ मा कांग्रेस विजयी भएको छ । यस्तै पैंयु गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये पैंयु १ मा कांग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नं २, ३ र ५ मा एमाले विजयी भएको छ ।
महाशिला गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक हुँदा चारै वडामा एमाले विजयी भएको छ । महाशिलाका १, २, ३ र ४ नम्बर वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । बिहादी गाउँपालिकाको दुई वडाको मत परिणाम सार्वजनिक हुँदा वडा नं १ मा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङ र वडा नं २ मा कांग्रेसका उम्मेदवार गणेश पौडेल विजयी भएका छन् । फलेवास नगरपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले दुई वडामा विजय हासिल गरेको छ भने दुई वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । फलेवासको वडा नं १ र १० मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ र ११ मा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका छन् । वडा नं ११ मा ३६ वर्षपछि एमाले विजयी भएको हो । यसैगरी मोदी गाउँपालिकामा १, २ र ३ वडाको मत सार्वजनिक भएको छ । तीनैओटा वडामा एमालेका उम्मेदवार विजयी भएका हुन् । अहिले वडा नंं ४ को गणना जारी छ । कुस्मा नगरपालिकामा वडा नं १ र १४ मा कांग्रेस विजयी भएको छ । रासस