भारतलगायत देशका विभिन्न स्थानबाट नागरिक घर फर्कन थालेपछि कैलालीका स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको छ । स्थानीय तहमा भएका सार्वजनिक भौतिक संरचना भरिभराउ भएपछि वाहिरबाट घर फर्किएका नागरिकको व्यवस्थापनमा समस्या भएको हो । कैलालीको जानकी गाउँपालिकाले पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरिसकेको छ । अब आउने नागरिकलाई राख्नका लागि टेण्ट लगाउनुपर्ने अवस्था आएको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “सबै सामुदायिक विद्यालय र सामुदायिक भवनमा क्वारेन्टाइन बनाइसक्यौँ”, उहाँले भन्नुभयो, “धान्न नसक्ने अवस्था आएको छ । भारत तथा नेपालकै अन्य जिल्लाबाट भित्रिने नागरिक रोकिएका छैनन् । अब टेण्ट लगाएर राख्ने तयारीमा छौँ ।” गाउँपालिकाले १७ स्थानमा क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनमा राखेकालाई खानपानदेखि सबै व्यवस्थापन गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ ।