नेटफ्लिक्सको आधिपत्य तोड्न अमेजन ल्यायो महत्वकांक्षी योजना

असार ७, वासिङ्टन । अमेजनले  हलिउड स्टुडियो एमजीएम खरीद गरेपछि विश्वका ठूला भिडिओ-अन- डिमान्ड कम्पनीहरू बीच प्रतिस्पर्धा बढेको छ । लगातारको प्रयासपछि गत मे २६ मा अमेजनले एमजीएम खरीद गरेको थियो । पछिल्लो समय एमजीएम आर्थिक समस्याबाट जुधिरहेको थियो जसका कारण कम्पनीको मार्केट भ्यालुसमेत खस्केको थियो । ।  भिडिओ-अन- डिमान्डको बजारमा आक्रामक उपस्थिति जनाउन अमेजनले ८ दशमलव ४५ अर्ब डलर अर्थात् १० खर्ब २० करोडभन्दा बढी रूपैयाँ खर्चेर एमजीएमको स्वामित्व खरीद गरेको हो । अमेजनले नेटफ्लिक्सलाई चुनौती दिन महत्वाकांक्षी योजनाका साथ एमजीएमको बजार मूल्यभन्दा बढी रकम खर्चेको थियो । हाल अमेजनको प्राइम भिडिओ सेवामा करीब २० करोड प्रयोगकर्ताहरू छन् भने प्रतिस्पर्धी नेटफ्लिक्सको २० करोड ८० लाख प्रयोगकर्ता छन् । नेटफ्लिक्सको बजार आधिपत्यलाई चुनौति दिंदै हालैका  दिनमा अमेजनले एकपछि अर्को कदम चालिरहेको छ । जसले गर्दा पनि भिडिओ-अन- डिमान्डको बजार आगामी दिनमा विश्वमै अर्को उचाइमा पुग्ने  अनुमान बजार विज्ञहरुले गरेका छन् । हालसम्म एमजीएमले ४ हजारभन्दा बढी फिल्म र १७ हजार घण्टाभन्दा बढीको टेलिभिजन शो निर्माण गरिसकेको छ ।साथै अमेजनले प्राइम भिडिओका लागि विशेष शो र फिल्महरू सृजना गर्न अमेजन स्टुडियोमा समेत लगानी गरिरहेको छ । एजेन्सीको सहयोगमा