काभ्रेपलाञ्चोक । बीपी राजमार्ग उपआयोजनाद्वारा सडकखण्डमा व्यवस्थित गरिएको आकस्मिक सूचना प्रणाली (ईआईएस) अलपत्र अवस्थामा रहेको छ । करीब ६ वर्षअघि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत प्रवेशस्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमा पनि उपआयोजनाले मौसमअनुसारको सूचना अद्यावधिक गर्न सकेको छैन । राजमार्गको तात्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले धुलिखेललगायतका स्थानमा बोर्ड राखिएको थियो ।
सडक विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकिएको बताएको छ । विभागका उपमहानिर्देशक एवं वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्रणालीको विकास गरेको तर केही समयपश्चात् सो प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको बताए । ‘पछिल्ला केही वर्षदेखि उक्त योजना निरन्तर सञ्चालन गर्न दक्ष जनशक्तिको अभाव तथा कोरोनाका कारण सकिएन, अब के कसरी गर्न सकिन्छ छलफल गर्नेछौं,’ उनले भने ।
उक्त सडकको यात्रा सहज बनाउन आकस्मिक सूचना प्रविधियुक्त राजमार्ग बनाउन लागिएको थियो । राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिन सक्नेगरी ६ वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचनाप्रविधिका भौतिक पूर्वाधारलगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको थियो । यस्तै वेबसाइट र सडकमा रहेका विद्युतीय बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजना बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो ।
राजमार्गमा वर्षा, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल र बर्दिबासमा रहने सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । तीन स्थानमा डिजिटल सूचना बोर्ड पनि राखिएको छ । ती बोर्डमा हाल पनि सामान्य सूचनाबाहेक सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे कुनै पनि जानकारी हुँदैन । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले बताउँदै आएको छ । यस प्रणालीअन्तर्गत चारओटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिस्टम’ले निरन्तर रूपमा वर्षाको मापन गरेर सडक विभागस्थित डेटा सेन्टरमा सूचना पठाउँछ । यस्तो केन्द्र काठमाडौ थापाथलीस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिवासस्थित सडक विभागका कार्यालयका साथै सिन्धुली जिल्ला विकास समितिमा रहने व्यवस्था गरिएको आयोजनाले बताएको थियो ।
उक्त प्रणालीअन्तर्गत डेटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरू जीपीआरएस मोडेममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफै अपडेट हुन्छ । यी विवरणहरू एलईडी डिस्प्लेयुक्त बोर्डहरूमा नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो ।
उपआयोजना प्रमुख पोखरेलले तत्काल यसबारे सरोकारवालासँग छलफल गरी रोकिएको काम अघि बढाइने बताए । ‘यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण भएको थियो,’ उनले भने । उनका अनुसार हाल सडक विस्तारका क्रममा कोटेश्वरस्थित सूचना बोर्डको पुनर्निर्माण हुनेछ । रासस