काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ दशमलव १२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १० करोड २३ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. १५ करोड ५ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीले रू. १८ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २५ करोड ९६ लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड रहेको छ । जगेडा तथा कोषमा कम्पनीले रू. २१ करोड ७८ लाख सञ्चित गरेको छ । त्यस्तै कम्पनीको बीमा कोषमा रू. ५० करोड २३ लाख रहेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म पुनर्बीमा कमिसनबापत रू. १४ करोड ३७ लाख आम्दानी गरेको छ । सो अवधिसम्म कम्पनीले कुल रू. ९५ करोड ३२ लाख बीमा शुल्क आर्जन गरेको हो । यो बीमा शुल्क गत आवको तुलनामा २४ प्रतिशत घटेको हो ।
गत आवमा कम्पनीले कुल रू. १ अर्ब २५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । चालू आवमा कम्पनीले रू. ५८ करोड ४५ लाख दाबी भुक्तानी गरेको छ भने रू. ८७ करोड २५ लाख दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १८ रुपैयाँ ६० पैसा, मूल्य आम्दानी अनुपात २४ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६८ दशमलव १६ छ । यो कम्पनी र अजोड इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्