बागमती प्रदेशको आगामी बजेट : कोरोना रोकथाम, कृषि र पूर्वाधारमा प्राथमिकता

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८/७९ का लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ ओटै जिल्लाका कोभिड–१९ संक्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई उच्च प्राथमिकता दिइने बताएका छन् । यही जेठको २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिड–१९ बाट पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ आर्यआर्जनका लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको जानकारी उनले दिए । प्रदेशको काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थान गर्न, अस्पतालको गुणस्तरीय वृद्धिको साथै एचडीयू, भेन्टिलेटर र आईसीयू कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने उनले बताए । मन्त्री ढुंगेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरवको आयोजनाको निर्माणको साथै शिक्षाको गुणस्तरीय वृद्धि र दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षातर्फ जोड दिइने जानकारी दिए । आगामी आवको बजेटले प्रदेशमा कृषि उत्पादनको साथै पशुपालनतर्फ गाई, भैंसी पालनको अतिरिक्त, खसी, बोका, कुखुरा, बंगुर पालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रका उपभोक्तालाई दुग्ध पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिने उनले बताए । आगामी आव २०७८/७९ का लागि सरकारले करिब ५४ अर्ब रुपैयाँके बजेट ल्याउने सम्भावना रहेको उनले बताए । बजेटले प्रदेशको १३ ओटै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, संघीय राजधानी काठमाडौंलाई हेटौंडाबाट जोड्ने विद्युतीय बसको सञ्चालन र पोष्ट बहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ संक्रमण रोग नियन्त्रणका लागि सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजित गरी कार्यान्वयन गर्नेतर्फ केन्द्रित रहेको उनको भनाइ छ । रासस