देवचुली डाँडामा पर्यटन सप्ताह

मध्यविन्दु (नवलपरासी), १५ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली […]

सम्बन्धित सामग्री

वन डढेलो रोकथामका लागि अभियान

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा वन डढेलो रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश वन डढेलोको उच्च जोखिममा भन्दै संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्नका लागि चैत १ देखि ७ सम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताए । सोअन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिंगर हटाउने तथा जलाउनेलगायत काम गरिएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापीरूपमा कार्यक्रमलाई अगाडि बढाएको डिभिजन वन अधिकृत काफ्लेले बताए । ‘चैत १ देखि सुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिंगर हटाउने, सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रम गरिएको छ,’ उनले भने । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले यस जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन आग्रह गरे । डढेलोको बढी जोखिममा रहेका जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) १६औं स्थानमा रहेकाले वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख काफ्लेले बताए । जिल्लामा ५८ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ । ‘वन जंगलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे सरोकारवालालाई जानकारी गराउने काम गरिएको छ,’ उनले भने, ‘जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापकरूपमा सूचित गरिएको छ ।’ नेपालमा मानवीय कारणले गर्दा वनमा बढी डढेलो लाग्ने गरेको तथ्यांकमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले १ प्रतिशत र ४ प्रतिशत वन डढेलोको कारण थाहा नभएको काफ्लेले बताए । ‘घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको शिकारका लागिसमेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा वन विनाश बढी हुने गरेकाले समुदायले यस्ता प्रवृत्तिको रोकथामका लागि काम गर्नुपर्ने देखिन्छ,’ उनले भने । डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो । यसैबीच आगलागीका कारण निम्तिने विपद्लाई न्यूनीकरण गर्न जिल्लाकै देवचुली नगरपालिकामा फायर हाइड्रेन्ट जडान गरिएको छ । सम्भावित घटनालाई सहज वातावरण सृजना गर्न फायर हाइड्रेन्ट जडान गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताए । ‘आगलागीजस्ता घटनामा दमकललाई तत्काल पानी भर्न सहज होस् भन्ने हेतुले फायर हाइड्रेन्ट जडान गरिएको हो,’ अध्यक्ष भुसालले भने, ‘यसअघि देवचुली नगरपालिका १४ र ११ नम्बर वडामा जडान गरिएको उक्त उपकरण अब बाँकी वडामा समेत जडान गरिने तयारी गरिएको छ ।’ रासस