इमानदारै इमानदारका बीचमा

फरक दल फरक झण्डा  फरक घोषणापत्र फरक फण्डा कहिले धम्की कहिले डण्डा देशको दोहन एउटै धन्दा  कहिले फुट्ने कहिले जुट्ने ध्येय एकै देश लुट्ने । हो, म सोच्थेँ कि यो युगमा इमानदार मान्छे पाउन असम्भव छ । तर अचेल त म जताततै इमानदारै इमानदार पो देख्छु त । शास्त्रहरूमा कलिपछि सत्य युग आउँछ भन्ने पढेको हो । तर नेपालमा त द्वापर युगपछि सीधै सत्य युग आएजस्तो लाग्न थालेको छ । जहाँ गयो, त्यहीँ इमानदारको ताँती । देशमा यस्ता यस्ता इमानदार खासगरी सरकारी कर्मचारी, नेता आदि जातका मान्छे रहेछन् कि उनीहरू हरेक काम भयंकर इमानदारीपूर्वक गर्दा रहेछन् । जस्तै, कसैलाई गोली नै हान्न परे पनि इमानदारीपूर्वक नै हान्दा रहेछन्, ताकि उसलाई यस्तो नलागोस् कि गोली हान्ने मान्छेले प्रेमपूर्वक हानिरहेको छ । कसैको पकेट मार्न होस्, गाँस काट्न होस् या घाँटी नै काट्नुपरे पनि पूरै इमानदारीसँग काट्ने रहेछन् । कहाँ त्यस्तो हुन्छ भन्नुहोला । विभिन्न करका नाममा विभिन्न सरकारहरूले तपाईंबाट जबर्जस्ती उठाउने कर वा सडकमा मकै पोलेर बेचेर आफ्ना बालबच्चा पढाउने, हुर्काउने गरेकोमा त्यो हठात् रोक्नु भनेको कुनै गला काट्ने काम भन्दा फरक हो र ? हैन नि । यसको मतलब शासकहरूले बदलामा कुनै सुविधा नदिई जनतालाई केवल एटीएम मेशिनबाट पैसा निकालेजस्तो कर उठाउने काम इमानदारीपूर्वक गरिरहेकै छन् त । कतिपय मान्छेहरू बाहिर बाहिर त माया गरेजस्तो गर्छन्, तर भित्रभित्रै गला काट्छन् । तर हाम्रा सरकारहरू गोली हान्ने भए सीधै गोली हान्छन्, गला काट्ने भए गला । यसमा सरकारले दायाँ बायाँ हेर्दैन वा दाँया बाँया गर्दैन । उसले जे गर्नुपर्ने हो, त्यो गर्छ गर्छ । विवादास्पद छवि भएका व्यक्ति ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्नु पनि त्यही इमानदारीको पुष्टि हैन र ? नेपालका राजनीतिक दलहरूलाई नै हेर्नुस् न । सत्तामा हुँदा तथ्यांकमा देशको विकासले उचाइ छुन्छ । प्रतिपक्षमा पुग्नासाथ त्यही मिथ्यांक बन्छ, अर्थतन्त्र खत्तम र बर्बाद बन्छ । सांसदहरू पनि आफ्नो दलको सरकार छ भने उसले गलत गरे पनि चुइँक्क बोल्दैनन् । आफ्नो दल प्रतिपक्षमा छ भने संसद् कुनै हालतमा पनि चल्न दिँदैनन्, चाहे सत्तापक्षले कुनै सही काम नै गरेको किन नहोस् । यो हो नि इमानदारी भनेको, पार्टीप्रति बफादारी भनेको ।  यसको मतलब के जनता चैं इमानदार छैनन् त ? जनता त झन् इमानदार छन् नि । पहिलो कुरा त जनताले भोट दिए भने पूरै इमानदारीसँग दिन्छन् । जसको पैसा लिएको छ, जसको दारु पिएको छ, जसको कुखुरा चपाएको छ, उसैको चुनाव चिह्नमा इमानदारीपूर्वक छाप लगाउँछन् । कोठाभित्र दिइने गोप्य मतमा समेत यस्तो इमानदार देखाउने बहादुर दुनियाँमा अन्त कतै होलान् त ? के सरकारी कर्मचारी पनि इमानदार छन् त ? ल सबैभन्दा इमानदार नै देशमा कर्मचारी नै त हुन् । पैसाप्रति इमानदारी । उनीहरू कसैको पनि काम पैसा नलिई सित्तैमा गर्दै गर्दैनन् । पहिला पैसा छनछन गन्न लाउँछन् अनि काम गर्दिन्छन् । पैसा नपाए कहिले के भएन, कहिले के मिलेन भनेर यता र उता लखेटिरहन्छन् । यो हो नि इमान्दारीको नमूना । नूनको सोझो गर्न उनीहरू पछि पर्दै पर्दैनन् । उनीहरू कतिपय जनप्रतिनिधि जस्ता पनि छैनन्, जो पैसा नलिई पनि काम गर्दिन्छन् । कर्मचारी त अगाडि वा सीधै पैसा लिन मिलेन भने पनि पछाडिको ढोकाबाट पैसा दराजमा राख्न लगाएर भने पनि दाम लिएपछि मात्र काम गर्दिन्छन् । यसको मतलब सीधै लिनुको साटो घुमाएर पैसा लिने काम त बेइमानी भयो नि भन्नुहोला होइन नि । उनीहरू इमानदार नै हुन् । त्यै भएर त उनीहरू सरकारी सेवामा ठूलठूला पदमा पदासीन हुन पुगेका । केवल उनीहरूका इमानदारीको तरीका अलि फरक मात्र हो । कतिपय मान्छेहरू बाहिर बाहिर त माया गरेजस्तो गर्छन्, तर भित्रभित्रै गला काट्छन् । तर हाम्रा सरकारहरू गोली हान्ने भए सीधै गोली हान्छन्, गला काट्ने भए गला । यसमा सरकारले दाँया बाँया हेर्दैन वा दाँया बाँया गर्दैन ।  हेर्नुस्, उनीहरू कुनै पदमा पुग्नुमा उनीहरूको आफ्नो हात हुँदैन । माथि भन्नैपर्ने हुन्छ । माथि भनेर मात्र पुग्दैन, मोटो थैली नै बुझाउनुपर्ने हुन्छ इमानदारीपूर्वक । यसरी तलकाले माथिकालाई र माथिकाले झन् माथिकालाई इमानदारीपूर्वक थैली चढाउनुपर्ने परम्परा भएपछि यसमा तलकाको कुनै बेइमानी त देखिएन नि । माथिकाको आदेश अनुसार गरिने काम त अनुशासन हो, इमानदारी हो । फेरि दिनेवालाले इमानदारीपूर्वक दिने र लिनेवालाले पनि त्यसैगरी लिने कुरामा त्यसमा असंलग्न अरूहरूले यसमा बेइमानी हो भन्नु चैं बेइमानी हो । फेरि यो देशमा व्यक्तिगत मामला र इमानदारीको मामला फरक फरक कुरा हुन् । अर्को कुरा, कसैले बेइमानी गरिरहेको छ भने उसले आफ्नो ढंगले, आफ्नै बलबुतामा आफ्नै रिस्कमा वा इस्कमा गर्ने कुरा हो । जस्तै, कतिपय डनहरू हिजोआज सांसद्, मन्त्री बनिरहेका छन् । आज उनीहरूलाई कसैले बेइमान भन्ने हिम्मत छ र ? बरु तिनले नै इमानदारीको पाठ पढाइरहेका छन् । कसैले कसैलाई गुण्डा, बदमास, झुटा आदि भन्दैमा मात्र पनि हुँदैन । प्रमाणित हुनुपर्छ । वास्तवमा जो इमानदार छन्, उसैको समाजमा इज्जत हुन्छ । यदि उनीहरू बेइमान रहेका भए उनीहरूको इज्जत कसरी हुन्थ्यो त ? अहिले एयरपोर्टमा १०० केजी सुन समातिएको विषयमा खुब हल्लाखल्ला छ । मानिसहरू विनासित्तीमा सुनमा बेइमानी भयो भनिरहेका छन् । तर त्यसो भन्नेहरूले के बुझिरहेका छैनन् भने त्यत्रो जोखिम मोलेर पनि कसैले लगानी गर्छ वा भन्सार पास गराइदिएबापत केही कमिशन पाउँछ भने यसमा खराबी के छ ? कमिशन खाने काम आफैमा एक कला हो । कमिशन आफ्नो ठाउँमा छ, इमानदारी आफ्नै ठाउँमा । अर्थात् यो काममा बेइमानी कसरी भयो ? बरु बेइमानी चैं यो भयो कि वर्षौंदेखि यसैगरी टनका टन सुन देशमा निर्बाध आइरहेकोमा कसैले रोक्ने काम गर्‍यो । अब हाम्रा र छिमेकका दिदीबहिनीहरूले गहना के लाउँछन् होला खै ? वास्तवमा योे इमानदारीको विषयमा कुरा सुन्दा सुन्दा थकित छु । इमानदारी चीज नै यस्तो हो कि यसले चाँडै थकाउँछ । फेरि कसैले कसैलाई बेइमान सिद्ध नगरुञ्जेल त ऊ इमानदार नै हुने भयो नि हैन र ? त्यसैले म के कुरामा ढुक्क छु भने म जहाँ छु, इमानदारै इमानदारका बीचमा छु ।