दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पूरा

काठमाडौं। शुक्रवारदेखि काठमाडौंमा आयोजना हुने ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा असोज २६ देखि २९ गतेसम्म एक्स्पो सञ्चालन गर्दै छ । एक्स्पोले स्थानीय हस्तकला र साना तथा मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गरी विश्व बजारमा पहुँच पुर्‍याउन सघाउने आयोजकको भनाइ छ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री एक्स्पोमा रहने एक्स्पो संयोजक कपिल अधिकारीले बताए । यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायत प्रदर्शनीमा राखिने संयोजक अधिकारीले बताए । साथै पश्मिना, क्यूरियोको सामान, गार्मेन्टका सामान, धातुका सामान, जडीबुटी, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू, जस्तै– होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, ट्राभल एन्ड टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीको आकर्षणका रूपमा रहने आयोजकको भनाइ छ ।