यसरी गर्नुस्, गुलाब फूलमा लाग्ने रोग किराको नियन्त्रण

काठमाडौं । गुलाब फूलमा लाग्ने प्रमुख किरा सुलसुले, लाही र थ्रिप्स हुन् भने मुख्य रोगमा डाउली मिल्ड्यु, पाउडरी मिल्ड्युरधुले ढुसी, बोट्राइटिस र कालो थोप्ले हुन् । यस्ता रोग तथा किराको नियन्त्रण गर्न रोकथाम, नियन्त्रण र उपचारात्मक विधि अपनाउनुपर्दछ । पुष्पविज्ञ डा. उमेद पुनका अनुसार अहिले नेपाल सरकारको सहयोगमा इन्सेक्ट नेट र राम्रो भेन्टिलेसनयुक्त नयाँ ग्रीन हाउस स्थापना भइरहेका छन् । यसबाट रोग तथा किराको असर धेरै कम गर्न सकिन्छ । सुलसुले : नेपालको हावापानीअनुसार गुलाब फूललाई सुलसुले किराले सबैभन्दा बढी नोक्सानी पु¥याउने गरेको पाइन्छ । फूलको पात सेतो वा खुजुमुजु र सुक्खा भएर झर्न थाल्यो भने सुलसुले किरा लागेको थाहा पाउनुपर्दछ । धेरै सानो हुने भएकाले यसलाई लेन्सको सहायताले मात्र देख्न सकिन्छ । सुरुआती अवस्थामा पातको पछाडिपट्टि देखिने भए पनि विस्तारै बिरुवाको मध्य र माथिल्लो भागमा असर गर्दछ । डा. पुनका अनुसार यो किरा काठमाडौंमा चैतदेखि जेठ र भदौदेखि कात्तिकसम्म बढी सक्रिय हुने गर्दछ । यसलाई नियन्त्रण गर्न बिरुवाको माथिबाट सबै पात भिज्ने गरी प्रशस्त मात्रामा सिँचाइ गरेमा सुलसुलेको संख्या घटाउन सकिन्छ । यसो गर्दा पनि नियन्त्रण नभए किटनाशक तेल वा नीमको तेलले उपचार गर्न सकिन्छ । किटनाशक विषादीको प्रयोग गर्दा सुलसुलेको प्राकृतिक शत्रु घटेर कहिलेकाहीं सुलसुलेको संख्या अधिक रूपमा बढ्ने हुनाले होसियार रहनुपर्दछ । लाही यो किराले कोपिला, बढ्दै गरेको मुन्टा र डाँठमा बढी असर गर्दछ । काठमाडौंमा यो किराले चैतदेखि जेठ र भदौदेखि असोजसम्म बढी असर गर्दछ । सुरुआती अवस्थामा बिरुवाको लाहीलाई पखालेर पनि नियन्त्रण गर्न सकिन्छ । यसबाहेक कमिलाको चलखेल नियन्त्रण गरेर पनि लाहीको विस्तारलाई कम गर्न सकिन्छ । थ्रीप्स यसले सीधै गुलाबको फूललाई आक्रमण गर्ने हुनाले फूलको आकार–प्रकार बिगार्ने र फूलमा खैरो रंगको धर्का देखिने गर्दछन् । यसबाहेक कालो वा पहेंलो रंगका स–साना थ्रीप्स फूलमा देखिन्छन् । सुक्खा महिनामा यसले फूललाई बढी असर गर्दछ । यसको नियन्त्रण गर्न किरा लागिसकेका फूललाई टिपेर नष्ट गर्नुपर्दछ । किराको बासस्थान हटाउन बिरुवाको वरपर उम्रिएका झारपात हटाउन आवश्यक छ । विषादी प्रयोग गर्नुपरे थ्रीप्सले फूलको कोपिलाभित्र असर गर्नुअघि नै प्रयोग गर्नुपर्दछ । पाउडरी मिल्ड्युर धुले ढुसी ढुसीबाट लाग्ने यो रोगले नेपाली फूल किसानलाई सबैभन्दा बढी सताएको बताइन्छ । नयाँ पात, कोपिला र डाँठको सतहमा खरानीजस्तो सेतो धुलो देखापरे यो रोग लागेको थाहा पाउनुपर्दछ । योसँगै पात झर्ने र कोपिला फक्रन नसक्ने हुन्छ । वर्षैभरि जुनसुकै समय पनि यस रोगले आक्रमण गर्दछ । यो रोगबाट फूललाई छुटकारा दिन ग्रीन हाउसमा दिनको समयमा आद्रता बढी राख्ने र रातीको समय कम राख्नुपर्दछ । रोग लागेका डाँठ र पात नष्ट गर्न सरसफाइका विधि अपनाउनुपर्दछ । धुले ढुसी नियन्त्रण गर्न उपयुक्त हुने ढुसी नाशक विषादी प्रयोग गर्न सकिन्छ । यद्यपि सुरक्षाका लागि रासायनिक उपचारलाई अन्तिम अस्त्रको रूपमा प्रयोग गुर्नुपर्ने विज्ञहरू बताउँछन् । डाउनी मिल्ड्यु यो पनि ढुसीजन्य रोग हो । यसले जमिनभन्दा माथि सबै भागका पात एवं डाँठलाई डढाएको देखिन्छ । पातमा लाग्ने दाग बैजनी वा खैरो रंगको हुन्छ । विस्तारै उक्त दाग वर्गाकार किसिमको भई पातलाई पहेंलो बनाएर झारिदिन्छ । यसको नियन्त्रण गर्न बगैंचाको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ भने ग्रीन हाउसभित्र भेन्टिलेसन प्रणाली राम्रो बनाउनु जरुरी हुन्छ । रातको समय आद्रता कम राख्ने र आवश्यक परे विषादीको प्रयोग गर्नुपर्दछ । बोट्राइटिस कोपिला र फूलमा खरानी र खैरो रंगको भुवादार वृद्धि देखिनु यो रोगको प्रमुख लक्षण हो । यसले कोपिलालाई फक्रनबाट रोक्दछ । पुष्पदलमा हल्का रंगका दाग पनि देखिन्छन् । तापक्रम मध्यम एवं सापेक्षिक आद्रता बढी भएको समय यो रोगको प्रक्रोप बढी हुन्छ । यसको नियन्त्रण गर्न बगैंचाको सरसफाइमा ध्यान दिनुपर्दछ । माटोको सतहमा थोपा सिँचाइमार्फत पानी दिनुपर्दछ भने पातमा पानी पर्न दिनुहुँदैन । कालो थोप्ले वसन्त ऋतुमा तथा गर्मीयाममा यस रोगले बिरुवालाई आक्रमण गर्दछ । पहेंलोले घेरिएका गोला कालो थोप्ला भएको लक्षण पातमा देखिए बिरुवाको बढ्ने क्रम रोकिनुका साथै निकै न्यून गुणस्तरको फूल फुल्छ । यो रोगबाट फूललाई जोगाउन रोग लागेका डाँठ हटाउने र नष्ट गर्ने कार्य गर्नुपर्दछ भने दिनको उत्तराद्र्धमा पातलाई सुक्खा राख्नुपर्दछ ।