कतार विश्वकप खेल्ने ३२ मध्ये २७ देशको टुंगो लाग्यो: पोर्चुगल छनौट हुन सफल, इजिप्ट बाहिरियो

सन् २०२२ मा हुने कतार विश्वकपको लागि छनौट हुने देशको संख्या २७ पुगेको छ । पछिल्ला छनौट खेलबाट थप ७ टोली छनौट भएसंगै विश्वकपको लागि छनौट हुने देशको संख्या २७ पुगेको हो ।गएराति सम्पन्न खेलहरुबाट घाना, सेनेगल , पोर्चुगल, पोल्याण्ड , ट्युनिसिया, मोरोक्को, र केमरुन छनौट भएका हुन् । लिभरपुलका स्टार खेलाडी कप्तान रहेको इजिप्ट भने छनौट हुन सकेन । सेनेगलसँग पेनाल्टीमा ३-१ ले पराजित भएपछि इजिप्ट छनौट हुन नसकेको हो । त्यस्तै पोर्चुगलले नर्थ मेसोडोनियालाई २-० ले पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको हो ।आयोजक कतार सहित जर्मनी , डेनमार्क, ब्राजिल, फ्रान्स,  बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विजरल्याण्ड, नेदरल्याण्ड, अर्जेन्टिना,  इरान ,  साउथ कोरिया, जापान, साउदी अरेबिया, इक्वेडर,  उरुग्वे र क्यानाडा  यस अघि नै छनौट भईसकेका छन्  । अब ५ टिम मात्र छनौट हुन् बाँकि रहेको छ । ५ टिमको लागे स्थान बनाउनको लागि ११ टिम प्रतिस्पर्धामा छन् । आज हुने खेलहरुबाट उत्तरी अमेरिकी देशहरु अमेरिका, मेक्सिको र कोस्टारिका मध्ये २ टिम छनौट हुने छन् । त्यस्तै युरोपबाट थप १ टिम छनौट हुने छ  । छनौट चरणको अन्तिम खेलहरु १४ जुन सम्म चल्ने छ । यद्यपि आगामी शुक्रबार नै विश्वकपको लागि ड्र आयोजना गरिएको छ, जसबाट छनौट भईसकेका मध्ये कुन देश कुन समुहमा भन्ने टुंगो लागि सक्ने छ ।   विश्वकपको मुख्य प्रतियोगिता भने २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । 

सम्बन्धित सामग्री