अलि उचाइबाट हेर्ने हो भने नेपालका सग्लो र हरियाली पहाड सडक मार्गले छियाछिया परेको देखिन्छ । भत्काइएका ठाउँमा नयाँ बिरुवा रोप्ने र निकास पठाउने काम भएको पाइँदैन । हरेक पहाड डोजरले काटेर गाउँगाउँ सडक पु¥याइनु नकारात्मक नभए पनि सडक बनाइरहँदा त्यसले गर्ने असर र उत्पन्न परिस्थितिबारे विश्लेषण हुन नसक्दा विनाश निम्त्याइरहेको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कनअनुसारका गतिविधि पाइँदैन ।रुखबिरुवा रोप्ने प्रावधान नीतिनियममा मात्रै सीमित भएकाले सडक खनेर बनेको नाङ्गा पहाड पहिराको प्रमुख कारण बन्ने गरेको छ । विपद् जोखिम व्यवस्थापनविज्ञ कृष्ण देवकोटा नेपालमा विपद्मैत्री विकास हुन नसक्दा नै जोखिम बढिरहेको जिकिर गर्नुहुन्छ ।
पछिल्लो समय नेपालमा पहिरोजन्य घटना वृद्धि भएको छ । यस वर्ष मात्रै विपद्का कारण ४०२ जनाको मृत्यु भएको तथा १०१ जना हराइरहेका छन् । अर्बैको क्षति भएको छ । वैशाखयता पहिराले मात्रै २९५ जनाको मृत्यु हुनु सामान्य कुरा होइन । यो दशककै सबैभन्दा बढी मानवीय क्षति हो ।
विश्वभरि रहेको जलवायु परिवर्तको प्रभाव नेपालमा पनि छ । हिमशृङ्खला भएकाले मौसम परिवर्तन हुँदा हिउँ पहिरो जाने, हिउँ पग्लने र हिमताल फुट्न सम्भावना छ । पानीका कारणले हुने विपत्ति पनि नेपालमै छ । त्यसमाथि विकासनिर्माणका काम विपद्मैत्री नहुँदा जोखिममा तेल थप्ने काम गरेको देवकोटा बताउनुहुन्छ । “सडक खनियो तर जोखिम हेरिएन, त्यसले पहिराजन्य घटना बढायो, अनि बाढी र डुबान भयो”, देवकोटाले भन्नुभयो, “जोखिम आकलन गरिएको स्थानमा समेत रोकथाममा प्रविधिको प्रयोग अपर्याप्त छ, पहिचान गरेर मात्रै भएन, त्यसको सही उपचार पनि गर्नुपर्छ, हामी त्यसमा चुकेका छौँ ।”
कतिपय अवस्थामा जोखिम थाहा हुँदाहुँदै पनि मानिस त्यही ठाउँमा बस्न बाध्य भए । नेपालमा यसपालि गएको पहिराका घटना हेर्दा कतिपय ठाउँका बासिन्दाले जान्दाजान्दै पनि अकालमा ज्यान गुमाए । सिन्धुपाल्चोकको जुगलस्थित लिदीमा गएको पहिरो त्यसैको एउटा उदाहरण हो ।
नागरिकहरु प्हिरो आउँछ भनेर महिनादेखि नै रातभर बाहिर पालमा बस्थे र बिहान घर आउँथे । सोही क्रम दोहोरिँदा बिहान पहिरो खसेर गाउँलेले मृत्यु भोगे ।