रौतहट । श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै रौतहटका उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएका छन् । उखु किसानका प्रतिनिधिहरूले सोमवार उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएका हुन् ।
‘चिनी मिल बचाऊ संघर्ष समिति’मार्फत किसानहरूले मिल्स सञ्चालनका लागि पहल गरिदिन मन्त्री रिजाललाई आग्रह गरेका छन् । उद्योग स्थापनाको समयमा उद्योग खोल्न सहुलियत मूल्यमा जग्गा विक्री गरेको, तर अहिले बन्द भएसँगै आफूहरू मर्कामा परेको गुनासो किसानहरूको छ । सरकारले समन्वय एवं सहयोग गरी उद्योग सञ्चालन गर्नुपर्ने, उद्योगको स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने, उद्योगलाई धराशयी बनाउने कर्मचारीलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग उनीहरूले राखेका छन् । आफूहरूका माग बेवास्ता गरे संघर्षका कार्यक्रम थाल्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै उद्योगमन्त्री रिजालले कानूनी व्यवस्थाअनुसार उद्योगको कामकारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल बैंकले रू. ३८ करोड ११ लाखमा लिलामीमा राखेको श्रीराम सुगर मिल्सका मेशिन/उपकरण रू. ४३ करोड ६१ लाखमा शिवशक्ति समूहले खरीद गरेको छ । २०४९ साउन १३ गते गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ गतेदेखि पूर्ण रूपमा बन्द छ ।