पोलभाडा नतिरेपछि विद्युत् प्राधिकरणले दियो लाइन् काट्ने चेतावनी

वैशाख १४, काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा प्रदायक संस्थाहरू मध्ये केही संस्थाहरुले विद्युतीय संरचनाको भाडा नतिरेको भन्दै लाईन काट्ने चेतावनी दिएको छ ।  प्रधिकरणले वैशाख मसान्तभित्र सेवा प्रदायक टेलिफोन, इन्टरनेट, केवल टिभि सेवा सञ्चालन गर्ने सेवा प्रदायकहरुलाई भाडा बुझाउन भनेको हो। उक्त समयअवधि भित्र  नविकरण गर्न तथा हालसम्मको बाँकी बक्यौता पनि भुक्तानी गर्न पनि उसले भनेको छ । प्राधिकरणले यसअघि पनि पटक - पटक ती संस्थाहरुलाई भाडा तिर्नका लागि सूचीत गराउँदै आएको थियो । प्राधिकरणले नियमानुसार शुल्क भुक्तानी नगर्ने ती संस्थाहरूको लाइन नेपाल विद्युत् प्राधिकरण विद्यत वितरण विनियमावली, २०७८ को विनियम ३१ अनुसार जुनसुकै समयमा काट्ने चेतावनी समेत दिएको छ । साथै  उसले पोलभाडाको बक्यौता भुक्तानी र नविकरण सम्झौता नगरेसम्म सेवा विस्तार नगर्न पनि भनेको छ । पछिल्लो समय विद्युत प्राधिकरण र इन्टरनेट तथा केवल टेलिभिजन प्रदायकबीच पोल भाडाका विषयमा विवाद हुँदै आएको छ ।