साउन १३, काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी योजनाहरुले असार मसान्तसम्मको अपस्किृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्वीटी फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । उक्त विवरण अनुसार असार महीनामा दुवै योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी रहेको छ ।
असार मसान्तसम्म सिद्धार्थ इक्वीटी फण्डले सूचीकृत तथा सूचीकृत हुन बाँकी शेयर, डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. १ अर्ब ५९ करोड १६ लाख ४७ हजार रहेको छ । यो लगानीको बजार मूल्य भने रू. २ अर्ब २२ करोड २२ लाख ५१ हजार रहेको छ ।
जेठ महीनाको भन्दा असार महीनामा धितोपत्रमा गरिएको लगानीको बजारमूल्य भने घटेको छ । जेठ मसान्तसम्म सिद्धार्थ इक्वीटी फण्डले गरेको लगानीको बजार मूल्य रू. २ अर्ब ४३ करोड ४६ लाख ५५ हजार रहेको थियो । योजनाले रू. १० करोड भने बैंक मुद्दति निक्षेपमा राखेको छ ।
यस योजनाले असार मसान्तसम्म रू. १ अर्ब ५ करोड ९१ लाख ७८ हजार नाफा गरेको छ । जेठ महीनामा भने यो नाफा रू. १ अर्ब १४ करोड २८ लाख ३६ हजार थियो । असार योजनाको नाफामा भने कमी आएको छ । असार मसान्तसम्म योजनाको जम्मा आम्दानी रू. १ अर्ब ९ करोड ८० लाख २१ हजार रहेको छ भने जम्मा खर्च रू. ३ करोड ८८ लाख ४३ हजार छ ।
जेठ महीनाको भन्दा असार महीनामा आम्दानीमा कमी र खर्चमा वृद्धि भएकाले पनि योजनाको नाफामा कमी आएको हो । जेठ महीनामा योजनाले रू. १ अर्ब १७ करोड ७८ लाख ६४ हजार आम्दानी गरेको थियो भने रू. ३ करोड ५० लाख २८ हजार खर्च गरेको थियो । यस योजनाको प्रतिइकाई खुद मूल्य जेठ मसान्तसम्म रू. १७ दशमलव ९० थियो भने असार महीनामा घटेर रू. १७ दशमलव ३५ मा झरेको छ । यस योजनाले १५ करोड इकाई जारी गरेको थियो ।
त्यस्तै, क्यापिटलकै व्यवस्थापनमा सञ्चालित अर्को सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ को पनि धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य बढी देखिन्छ । यस योजनाले असार मसान्तसम्म सूचीकृत तथा सूचीकृत नभएका शेयर, डिबेञ्चर तथा निक्षेपमा गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित रू. १ अर्ब २० करोड ६० लाख ६ हजार रहेको छ ।
धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्य सहित सञ्चालित यस योजनाको लगानीको बजार मूल्य भने रू. १ अर्ब ७४ करोड ९ लाख रहेको छ । जेठ महीनामा भने यो मूल्य रू. १ अर्ब ८९ करोड ३६ लाख ५३ हजार थियो । जेठ महीनाको भन्दा असारमा योजनाको लगानीको बजारमूल्यमा कमी आएको छ । यस योजनाले बैंक मुद्दती निक्षेपमा रू. ८ करोड लगानी गरेको छ ।
सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ ले असार मसान्तसम्म रू. ८५ करोड ९६ लाख ९३ हजार नाफा गरेको छ । जेठ महीनामा यो नाफा रू. ९२ करोड ५१ लाख ५३ हजार थियो । जेठ महीनाको तुलनामा असारमा योजनाको नाफा घटेको छ । जेठ महीनामा रू. ९५ करोड ३५ लाखभन्दा बढी आम्दानी गरेको यस योजनाले असार महीनामा रू. ८९ करोड ११ लाखभन्दा बढी मात्र आम्दानी गरेको छ ।
त्यस्तै, जेठ महीनामा रू. २८ करोड ३४ लाख भन्दा बढी खर्च गरेकोमा असार महीनामा रू. ३१ करोड ४७ लाखभन्दा बढी खर्च गरेको छ । असार महीनामा आम्दानी कम र खर्च बढी हुँदा योजनामा नाफामा कमी आएको हो ।
योजनाको प्रतिइकाई खुद मूल्य पनि जेठ महीनामा रू. १८ दशमलव २९ रहेकोमा असार महीनामा घटेर रू. १७ दशमलव ७४ कायम भएको छ । यस योजनाले १२ करोड इकाई जारी गरेको थियो ।