मंसिर २५, धरान । घण्टौं लाइनमा बसेर बिल काट्नु पर्ने बाध्यतालाई हटाउँदै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाईनबाटै बिल काट्ने प्रविधिको शुरुवात गरेको छ ।
कोरोना महामारीको समयमा अनलाईन सिस्टम लागू गर्न खोजे पनि विभिन्न प्राविधिक समस्याले चालू गर्न नसकेको अनलाईन बिल काट्ने प्रविधिलाई परिमार्जन गर्दै सञ्चालनमा ल्याएको छ ।
प्रदेश एक सहित प्रदेश दुई र भारतीय बिरामीहरु समेत उपचारका लागि प्रतिष्ठान आउने गर्दछन् । दैनिक जसो तीन हजार बिरामीहरुले सेवा लिने गरेका छन् । बिल काट्न नै सहज नहुँदा बिरामीको गुनासो बढ्दै गएपछि पुनः अनलाईन टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको हो ।
प्रतिष्ठानले शुक्रवारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जानकारी दिएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसन मार्फत बिरामीले अनलाइन टिकट लिन सक्नेछन् ।
सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने जानकारी दिएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नु पर्ने बाध्यताबाट बिरामीहरुले छुट्कारा पाउने विज्ञप्ती जारी गर्दै अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताएका छन् ।
उनका अनुसार सेवालाई विस्तार गरेर ल्याब परीक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइने भएको छ । यस्तै, पेइङतर्फको बिरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउन निर्देशन दिइएको साहले बताए । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिर सहयोगी समेत राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
एप्स मार्फत कुन विभागको कुन टिममा बिरामी देखाउने भनेर छान्न सकिने गरी विकास गरिएको छ । अनलाइन रजिष्ट्रेसन भएको बिरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको सहप्रवक्ता डा.चुरामनि पोखरेलले बताए ।