नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै भू–उपग्रह राख्ने सरकारको नीतिको कार्यान्वयनका क्रममा ती प्रस्ताव पेस भएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्न सोको नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा, प्राविधिक आवश्यकता, बोलपत्र कागजात तयार गर्न पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकोमा चार कम्पनीले मात्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरेको जानकारी दिनुभयो ।