महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा शुरू भएको छ । अस्पताल स्थापनाको ६ दशकपछि मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिस सेवा सञ्चालन गरिएको हो । शुक्रवारदेखि अस्पतालले डायलासिसको परीक्षण सेवा शुरू भएको बताएको छ । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले अहिले परीक्षणको रूपमा सेवा शुरू भएको बताए । ‘हामीसँग पाँच मेशिन छन्,’ उनले भने, ‘मेशिन अनुरूप बेड राखेर सेवा सञ्चालन गरिरहेका छौं ।’
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा विस्तार गरिने बताए । अध्यक्ष भट्टका अनुसार हाल अस्पतालले डायलासिस सेवाका लागि पाँच शय्या छुट्ट्याएको छ । यो संख्या बढाएर १० ओटा पुर्याइने उनले बताए । ‘अहिले दिउँसो दुई सिफ्ट चलाउने योजना छ, ‘उनले भने, ‘विस्तारै रातिको सिफ्टमा पनि सेवा दिन्छौं ।’ डायलासिस कक्षमा नर्सिङ अधिकृत राजेश्वरी समाल (बडाल)ले जिम्मेवारी पाएकी छिन् ।
अहिले भीमदत्त नगरपालिका–१० तिलकेनीका नन्दराज जोशीले डायलासिस सेवा लिइरहेका छन् । तीन वर्षदेखि मिर्गाैला पीडित जोशीले अहिले घर आँगनकै अस्पतालमा उपचार सेवा शुरू भएपछि खुशी व्यक्त गरे ।
डायलासिस सेवा परीक्षणका लागि स्वास्थ्य मन्त्रालयका वरिष्ठ नेफ्रोलोजिष्ट डा. जुजुराज श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाका डा. खगेश्वर गेलालसहितले टोली महेन्द्रनगर पुगेको छ । महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।