पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँको संसद् पुनर्स्थापना गर्ने फैसला गरेको छ । प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन 'गैर कानुनी' भएको भन्दै त्यहाँको सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएको हो ।अदालतले आगामी ९ अप्रिलमा संसद बैठक बोलाउन पनि आदेश दिएको छ । नेपालमा केपी ओली सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद बिघटन सर्वोच्च अदालतले उल्ट्याउदै संसद पुनर्स्थापनाको आदेश दिएको थियो । साथै संसद बैठक बोलाउने दिन पनि तोकिदिएको थियो । पाकिस्तानमा पनि सोहि खालको राजनीतिक घटनाक्रम भएको हो ।पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्द अविश्वासको प्रस्ताव दर्ता भएको थियो । तर अविश्वासको प्रस्तावमा मतदान हुनु पर्ने दिन संसदका उपसभामुख कासिम सुरीले अविश्वासको प्रस्ताव असंवैधानिक भन्दै अविश्वासको प्रस्ताव नै खारेज गरिदिएका थिए । त्यसपछि खानमाथिको अविश्वासको प्रस्ताव माथि मतदान हुन पाएको थिएन। त्यसपछि प्रधानमन्त्री खानले संसद विघटनको लागि राष्ट्रपतिलाई सिफारिस गरेर चुनावमा जाने तयारी गरेका थिए ।तर सर्वोच्च अदालतले उपसभामुख कासिम सुरीको निर्णय असंवैधानिक भएको फैसला गरेको छ । अदालतले आगामी संसद बैठक अप्रिल ९ मा बोलाउन र त्यस दिन अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दिएको छ । यस संगै अब प्रधानमन्त्री खान विरुद्द दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने भएको छ । खानसँग बहुमत नरहेकोले अविश्वासको प्रस्ताव पारित हुने र उनी प्रधानमन्त्रीबाट हट्नु पर्ने बताईएको छ ।