औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण

१२ वैशाख, काठमाडौँ । औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विभागमा कार्यरत तीनजनामा कोरोना संक्रमण देखिएको विभागका प्रवक्ता सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएका ८ जना होम आइशोलेशनमा बसेका छन्। यस्तै औषधि पसल नवीकरणबाहेकका सबै सेवा अवरुद्ध भएका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ मा ज्वरोको औषधिको अभाव

धनकुटा । कोरोना महामारीका बेला प्रदेश १ मा ज्वरोको औषधिको अभाव भएको छ । धनकुटासहित प्रदेशभर एक सातादेखि सिटामोल अभाव भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश १ ले बताएको छ । सामान्यतया ज्वरो आउँदा र जीउ दुख्दा सेवन गरिने सिटामोल अहिले प्रदेश १ का अधिकांश जिल्लाका औषधि पसलमा पाउन कठिन भएको छ । औषधि पसलहरूले सिटामोल अभाव भएपछि सिटामोलले जस्तै काम गर्ने अन्य औषधि दिने गरेका छन् । देशभर कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । कोरोना संक्रमितलाई ज्वरो आउँदा उनीहरूले पनि सिटामोल प्रयोग गर्दछन् । तर फार्मेसीहरूमा सिटामोल नै नपाउँदा कोरोना संक्रमितसहित ज्वरोका अन्य बिरामी मारमा परेका छन् । औषधि किन्न जिल्ला अस्पताल अगाडिको फार्मेसीमा आएकी धनकुटा नगरपालिका–२ की ५५ वर्षीया गीता निरौलाले बजारका अधिकांश औषधि पसलमा खोज्दा पनि सिटामोल नपाएको गुनासो गरिन् । ‘ज्वरो आएर सिटामोल किन्न आएको, यहाँ वरिपरिका कुनै पनि औषधि पसलमा पाइएन,’ उनले भनिन् । धनकुटा अस्पताल अगाडिको साझा स्वास्थ्य सेवामा वैशाख ८ गतेदेखि नै सिटामोल सकिएको काउन्टर इन्चार्ज मदन लामिछानेले बताए । ‘१५ सय ट्याब्लेट आएको थियो, चार दिनमै सकियो,’ उनले भने, ‘सिटामोल तलैबाट आएको छैन, कहिले आउँछ पत्तो छैन ।’ स्थानीय सन्तोष मेडिकलमा पनि करीब २० दिन अघिदेखि नै सिटामोल सकिएको मेडिकलका डा. सत्यनारान यादबले बताए । ‘माग थेग्नै नसक्ने अवस्था छ, साता–दस दिनदेखि सिटामोल आएकै छैन, उपभोक्तालाई कसरी दिनु ?,’ उनले भने । अहिले जिल्लाभरकै औषधि पसलमा सिटामोल पाउन छोडेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले स्वीकार गरे । ‘फार्मेसीहरूले सिटामोल आएको छैन भन्छन्, के कारणले यस्तो भएको थाहै भएन,’ उनले भने । फार्मेसीहरूमा सिटामोल नपाइए पनि सरकारी स्वास्थ्य संस्थामा भने अभाव नरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । नेपाल औषधि व्यवसायी संघ प्रदेश १ समिति उपाध्यक्ष रहेका विराटनगरको एपोलो फार्मेसीका सञ्चालक धनराज काफ्लेले मागका तुलनामा आपूर्ति नबढ्दा अभाव भएको बताए । अहिले दैनिक १० देखि १५ जना उपभोक्ता सिटामोल नपाएर फार्मेसीबाट फर्किने गरेको उनको भनाइ छ । ‘कोरोना संक्रमण दर बढेसँगै सिटामोलको माग बढेको हो । दुई साता अगाडिदेखि सिटामोल खोज्न आउनेहरू धेरै छन्,’ उनले भने, ‘होलसेलमा १०÷१२ दिनदेखि माग गर्दै आएका छौं, आपूर्ति नै छैन ।’ ‘बजार अनुगमन गर्दा पनि अभाव नै देखियो’ बजारमा सिटामोल अभाव भएको जनगुनासो बढेपछि औषधि व्यवस्था विभाग विराटनगरले दुईओटा समूह बनाएर सुनसरी, मोरङ, झापा र इलामका खुद्रा तथा थोक औषधि विक्रेता पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा थोक विक्रेताहरूमै सिटामोल अभाव रहेकाले बजारमा अभाव हुनु स्वाभाविक भएको विभागको विराटनगर कार्यालय प्रमुख सञ्जीव शर्मा कट्टेलले बताए । अनुगमनका क्रममा सिटामोलको चरम अभाव, डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, भिटामिन सी, स्टेरोइड, जिंक चक्की, मिथाइल टेडमिसोलन र डिग्जामिथासोन पनि अभाव रहेको पाइएको उनले जानकारी दिए । बजारमा सिटामोल लगायत औषधि आपूर्तिका लागि आवश्यक व्यवस्था मिलाइदिन विभागमा पत्राचार गरिसकेको उनले बताए ।