सप्तरीमा आँपको उत्पादन बढ्ने अनुमान

सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् ।

सम्बन्धित सामग्री

बोट झांगिने गरी फुलेकाले आँपको उत्पादन बढ्ने

खजुरा । बाँकेमा यस वर्ष आँपको उत्पादन बढ्ने भएको छ । आँपका बोट झांगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । वर्र्षेनि आउने हावाहुरी र बतासले आँपका फूल झार्नुका साथै बतिला आँपसमेत झर्ने गरेको पाइएको छ । एकाध आँप भएको बारी होस् वा आँपको बगैंचा नै यतिबेला सबैतिर आँपका रूख फुलेर झपक्कै भएका छन् । बाँकेका अधिकांश घरमा घरायसी प्रयोजनका लागि आँपका रूख लगाइएका छन् । व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा आँपका बगैंचा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख शकील अहमदले बताए । यस वर्ष आँपको उत्पादन बढ्ने उनको विश्वास छ । उनले भने,‘आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ, यस वर्ष आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।’ बाँकेमा चैत, वैशाख र जेठमा आउने हावाहुरीले आँप झारेर क्षति पुर्‍याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले बताएको छ । जिल्लामा सबैभन्दा बढी दशहरी आँप लगाइएको छ । माल्दालगायत अन्य जातका रुख पनि लगाइएका छन् । बाँकेभर करीब ३०० हेक्टर जमीनमा आँप लगाइएको अनुमान केन्द्रको छ । जिल्लामा अधिकांशका घरमा आँप लगाएको पाइन्छ । जिल्लाको सीतापुर, भवानियापुर, डुडुवालगायत क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ । रासस

आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो

काठमाडौं (अस) । फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८ प्रतिशतसम्म मूल्य बढेको पाइएको हो । अहिले नेपाली आँप बजारमा आइसकेको छैन । भारतीय आँपका लागि उतै महँगो तिर्नु परेकाले बजार मूल्य बढेको व्यवसायीको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य–सूचीमा उल्लेख भएअनुसार अघिल्लो वर्ष वैशाख २६ गते प्रतिकिलो १ सय २५ रुपैयाँ रहेको कलकत्ते आँपको थोकमूल्य यस वर्ष वैशाख २६ गते २ सय १० रुपैयाँ थियो । यो अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी हो । खुद्रा बजारमा यो आँपको मूल्य प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयासम्म पर्ने गर्छ । दशहरी आँपको मूल्य पोहोरको तुलनामा ६२ प्रतिशतले बढेको छ । पोहोर प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेकामा यसपालि २ सय ३५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म पुग्छ । मालदह आँपको मूल्य ३३ प्रतिशतले बढेको पाइएको छ । यसको थोक मूल्य ७५ रुपैयाँ किलोबाट बढेर सय रुपैयाँसम्म पुगेको छ । खुद्रा बजारमा उपभोक्ताले यसका लागि प्रतिकिलो १ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ । अहिले नेपाली आँप बजारमा आउने बेला भइसकेको छैन । त्यसैले भारतीय आँपको बजार शुरू भएको छ । यो वर्ष भारतीय आँपको मूल्य उतैबाट बढेर आएकाले त्यसको असर नेपाली बजारमा परेको समितिका अध्यक्ष गीताप्रसाद आचार्य बताउँछन् । उनका अनुसार जेठ दोस्रो सातादेखि नेपाली आँप बजारमा आउँछ त्यसपछि मूल्यमा केही कमी आउन सक्छ । चर्को मूल्यका कारण आँपको माग र आयात दुवै घटेको व्यवसायी बताउँछन् । कुलेश्वर फलफूल बजारका अध्यक्ष अमर बानियाँका अनुसार गतवर्ष यो समयमा भारतबाट हरेक दिन १० देखि १२ गाडीसम्म आँप आयात हुन्थ्यो । यो वर्ष दैनिक ६/७ गाडीमात्रै आयात भइरहेको छ । आफूहरूले भारतबाट ल्याउँदा नै सयदेखि १ सय ५० रूपैयाँ भारूसम्म पर्ने गरेको व्यवसायी बताउँछन् । यस वर्ष नेपाली आँपको उत्पादन बढ्ने अनुमान गरिएको छ । आँप उत्पादन १ वर्ष घट्ने र अर्को वर्ष बढ्ने गर्छ । यस वर्ष उत्पादन बढ्ने समय हो । त्यसैले गतवर्षको तुलनामा यस वर्ष तराईका जिल्लामा आँप उत्पादन करीब दोब्बर हुने अनुमान गरिएको सिराहा तथा सप्तरी आँप जोनका कर्मचारी बताउँछन् ।