खेलाडीलाई नियमित दुध खाने व्यवस्था मिलाउन आग्रह

डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनले खेलाडीले खाने खानामा दुध तथा दुग्ध पदार्थ अनिवार्य समावेश गराइदिन सरकारसँग आग्रह गरेको छ । एसोसिएसनले आइतबार खेलकुदमन्त्री, खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा सबै प्रदेशका खेलकुद परिषद्, जिल्लाका खेलकुद समितिसँग लिखित रूपमै आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले खेलकुदसँग सम्बन्धित सबै सरकारी निकायलाई पत्र नै पठाएर त्यो आग्रह गर्नुभएको छ । मौज्दात रहेको दुध तथा दुग्ध पदार्थको खपत बढाउनका लागि सरकारी निकायलाई यस्तो अनुरोध गरिएको अध्यक्ष दाहालले बताउनुभयो । दुध तथा दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण निकै समस्या भएको बताउँदै उहाँले मिल्क होलिडे नहोस् भनेर आफूहरूले यस्तो प्रयास गरेको बताउनुभयो । मन्त्रालय तथा परिषद्बाट सकारात्मक सन्देश आएको बताउँदै उहाँले खलाडीको खानामा दुध र दुग्ध पदार्थ अनिवार्य ग¥यो भने डेरीलाई राहत हुने बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा पनि अनिवार्य दुध तथा दुग्ध पदार्थ सेवन गराउन पहिलादेखि नै आग्रह गरिएको हो तर अहिलेसम्म नीतिगत निर्णय नभएको उहाँले बताउनुभयो । यतिबेला डेरी क्षेत्रमा निकै सङ्कट उत्पन्न भएको छ, मौज्दात दुग्ध पदार्थ बिक्री नभए त्यसको असर सिधै किसानलाई पर्ने भएकाले यसमा सरकार पनि गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।