नेपालमा जुटको फसलले राम्रो व्यवसाय गर्न नसके पनि झूटको खेतीले भने राम्रै व्यापार गरिरहेको छ । कुन क्षेत्रबाट कुरा शुरू गरौं ? हाम्रो आफ्नै मिडिया क्षेत्रलाई पहिले हेरौं न । काठमाडौंबाहिरका जिल्लाबाट पत्रिका छाप्ने त कुरै छाडौं, जहाँ दुई कपीसमेत पत्रिका छापिराखेको छैन, त्यही ठाउँबाटै पत्रिका छापिरहेको झुट त्यो पनि पत्रिकाको टाउकोमै (माष्ट हेडसँगै) राखेर केही राष्ट्रिय भनिएका दैनिकहरूले रमाइलो खेती गरिरहेका छन् । उनीहरूको झूटको खेती राम्रै फस्टाएकै छ । महिलाको उमेर, पुरूषको तलब नसोध्नु भने झैं पत्रिकाको छपाइसंख्या सोध्ने त कुरै भएन ।
त्यसैले जसले जति पत्रिका छापेर बजारमा जति विक्री गरिरहेको दाबी गर्ने गरेको भए पनि मानिसले तिनलाई सत्यको खेती मानिरहेकै छन् । अरू उद्योग व्यापारलाई नै हेरौं । जनताबाट करोडौं मूल्य अभिवृद्धि कर उठाएर सरकारी ढुकुटी भर्नुको साटो आआफ्नो भुँडी भरेका कारण थुप्रै व्यावसायिक प्रतिष्ठानलाई अर्थ मन्त्रालय (अम)ले कारबाही गरिरहेको छ । यो भिन्दै कुरा हो कि अमले पनि जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्यमा खर्चिनुपर्ने राजस्व आफ्नै भुँडी बढाउन खर्च गर्ने अन्य थुप्रै व्यवसायीलाई कारबाही गरेन । तिनका नाम पनि सार्वजनिक गरेन । यो झूटको खेतीबाट सरोकारवाला हाकिमहरूको भुँडी ठूलो पार्ने एक उपाय हो । थुप्रै नेपाली कम्पनीहरूले व्यवस्थापनमा पाएको आईएसओको प्रमाणपत्र देखाएर आफनो उत्पादनले नेपाल गुणस्तरमा आईएसओ पाएको भन्नेसम्मको झूटको खेती गरेर मालामाल बन्दै गएका छन् ।
(तीतोमीठोबाट) वर्ष ६, अंक २३०, शुक्रवार, २२ वैशाख, २०६९