गुडको माग बढ्यो, उखु खेती बढेन

जिल्लाका विभिन्न ठाउँमा उखु खेती गरिँदै आए पनि व्यावसायिक उत्पादन हुन सकेको छैन । यहाँका किसानले उखु पेलेर परम्परागत रूपमा गुड (सख्खर) उत्पादन गर्दै आएका छन् । व्यावसायिक रूपमा उखु खेती नहुँदा भारतबाट बर्सेनि ठूलो परिमाणमा गुड आयात हुँदै आएको छ । थोरै बारीमा उखु उत्पादन गर्दै आए पनि व्यावसायिक बन्न नसकिएको लेकम गाउँपालिका–६ का गोकर्णदेव मिश्रले बताए । उखु खेती यहाँ धेरै पहिलेदेखि गरिँदै आएको छ । स्थानीयस्तरमै गुड बनाएर बिक्री गरिन्छ । तर, मिहिनेतअनुसारको आम्दानी नहुँदा व्यावसायिक उखु खेती गर्न अप्ठ्यारो भएको किसान बताउँछन् ।