बाढीले बगायो पाठ्यपुस्तक

सुनसरी (अस) । दशैं बिदापछि इटहरी क्षेत्रका विद्यालय खुल्न थालेका छन् । तर कात्तिक पहिलो साता बेमौसमी वर्षापछि आएको बाढीले पाठ्यपुस्तक बगाउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । स्थानीय खोला र पैनीमा आएको बाढीले इटहरीका घर डुबानमा पर्दा विद्यार्थीका पाठ्यपुस्तक समेत काम नलाग्ने भएका थिए । बाढीले सबै पुस्तक कामै नलाग्ने बनाइदिएपछि आफू अब विद्यालय जाने÷नजाने दोधारमा रहेको कविर माविको कक्षा ६ मा अध्ययनरत छात्र सुसन घिमिरे सुनाउँछन् । ‘अघिल्लो वर्ष विद्यालयले नै पाठ्यपुस्तक दिएको थियो । त्यही पनि बाढीले बगाइदिएपछि यो वर्ष पुनः दिने हो या नदिने केही थाहा छैन,’ उनले भने । कोरोना कहरका कारण लामो समयदेखि बन्द इटहरी उपमहानगरका सामुदायिक तथा निजी विद्यालय गत आइतबारदेखि पुनः सञ्चालनमा आएका छन् । तर पाठ्यपुस्तक अभावले धेरैजसो बालबालिका विद्यालय जानबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । बाढीका कारण विद्यार्थीको पाठ्यपुस्तक मात्र होइन, इटहरीका एक दर्जनभन्दा बढी सामुदायिक तथा निजी विद्यालयमा समेत क्षति पुगेको छ । बाढीले इटहरीस्थित केचना माविको पर्खाल भत्काएको छ भने मुख्य चोकमै अवस्थित जनता माविमा अझै पनि पानी जमिरहेको छ । त्यस्तै नमूना कलेज, जनता कलेज, पाथीभरा टेक्निकल कलेज, राष्ट्रिय जनसहयोग कलेज, पूर्वाञ्चल बोर्डिङ लगायत विद्यालयमा बाढीले क्षति पुर्‍याएको इटहरी उपमहानगरपालिका, शिक्षा शाखाले बताएको छ । बाढीबाट निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत करीब ३ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित बनेको शिक्षा शाखाको अनुमान छ । अहिले क्षति विवरण संकलन कार्य भइरहेकाले विद्यार्थीलाई अवस्था हेरेर पाठ्यपुस्तक प्रदान गरिने शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए । विद्यालयको भौतिक संरचनामा पुर्‍याएको क्षतिबारे पुरै विवरण आइनसकेकाले यकीन नभएको उनको भनाइ छ ।