नाइकी र एडिडासका लागि जुत्ता बनाउने भियतनामी कम्पनीले निकाल्यो झन्डै ६ हजार कर्मचारी

काठमाडौं । विश्व प्रशिद्ध ब्रान्डहरु नाइकी (Nike) र एडिडास (Adidas) का लागि जुत्ता बनाउने भियतनामी कम्पनीले हजारौं कर्मचारीलाई कामबाट निकाल्दैछ । आगामी महीनाको अन्त्यमा पोउयुएन भियतनामले ६ हजार कर्मचारीलाई निकाल्न लागेको हो । यो भियतनामको सबैभन्दा ठूलो जुत्ता निर्माता मध्ये एक हो ।  अर्डर सुस्ताउने थालेपछि कम्पनी कर्मचारी निकाल्न बाध्य बनेको भन्दै सरकारी समाचार संस्थाले समाचार छापेको छ । भियतनाम लत्ताकपडा, जुत्ता र फर्निचरको सबैभन्दा ठूलो निर्यातकर्तामध्ये एक हो । तर यूरोप र अमेरिकामा महँगीका कारण जीवनयापन संकट निम्तिएपछि भियतनामका निर्यात उद्योगहरु चपेटामा परेका छन् । अहिले विश्वभर नै महँगीका कारण उपभोक्ताहरुको क्रय शक्ति खुम्चिएको छ ।  कम्पनीले आगामी महीनादेखि स्थायी करार भएका ६ हजार कर्मचारीलाई कामबाट निकाल्ने ताइवानी कम्पनी पाउ छेन समूहको एउटा एकाई पोउयुएन भियतनामले भनेको भन्दै भीएनएक्सप्रेसले शनिबार समाचार छापेको छ । यो सन् १९९६ मा हो चि मिन्ह शहरमा कम्पनी सञ्चालनमा आएयताकै सबैभन्दा ठूलो रोजगारी कटौती हुनेछ । कम्पनीमा करीब ५० हजार कर्मचारी काम गर्छन् । यो हो चि मिन्ह शहरको सबैभन्दा ठूलो रोजगारदाता मध्ये एक हो । कम्पनीले कर्मचारी कटौती गर्न लागेको यो पहिलो पटक होइन । यही वर्षको फेब्रुअरीमा पनि यसले ३ हजार स्थायी कर्मचारी र करार नवीकरण नभएका अरु ३ हजार कर्मचारीलाई कामबाट निकालेको थियो । शहरको श्रम विभागले गरेको एउटा सर्वेक्षणका अनुसार हो चि मिन्हका झन्डै एक तिहाई उत्पादन कारखानामा कर्मचारीको माग घटेको छ । जुत्ता बनाउने देखि लत्ताकपडा निर्माता अनि निर्माण देखि खाद्य प्रशोधन उद्योगसम्मै यो सुस्ती देखिएको छ । पोउ युएनले माग घटेपछि गएको वर्ष पालै पालो गरेर २० हजार कर्मचारीलाई तलबी बिदा दिएको थियो । गएको वर्ष मात्रै भियतनाममा ६ लाख ३० हजार भन्दा धेरै कर्मचारीहरुले जागिर गुमाएको वा काम गर्ने समय घटाइएको त्यहाँको श्रम मन्त्रालयले बताएको छ । एजेन्सी