एक दशकमा पनि बनेन टेकुको पुल, ठेक्का तोडिएपछि ठेकेदार कम्पनी अदालत पुग्दा बढेन काम !

काठमाडौं । एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ ।  तर, काठमाडौंमा एउटा यस्तो पुल छ, जसको निर्माण शुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो । तर, निर्माण सकिएको छैन । टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९/६० मा शुरु भए पनि हालसम्म सम्पन्न भएको छैन । पुल निर्माणमा त्रुटि रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात आवागमन रोकिएको डिभिजनका सूचना अधिकारी सुनिता केसीले बताइन् ।   पुल निर्माण अघि बढिरहँदा डिभिजन र निर्माण कम्पनीबीच विवाद भएको थियो । डिभिजनले कम गुणस्तरको भएकाले निर्माण अघि नबढाउन भनेको भए पनि कम्पनीले त्यो नमानेको सूचना अधिकारी केसीले बताइन् । उनले भनिन्, ‘डिभिजनले रोक्न भन्दाभन्दै कम्पनी काम सकाउन लागेको थियो ।’  कम गुणस्तरको निर्माण भएको र पहिले डिजाइनमा उल्लेख भएअनुसार (स्पेसिफिकेसन) अनुसार नभएकाले तीन वर्षपहिले निर्माण कम्पनीसँगको ठेक्का तोडिएको डिभिजनले जनाएको छ । डिभिजन कार्यालयले ठेक्का तोडेर कम्पनीलाई कालोसूचीमा पठाएपछि कम्पनी अदालतमा गएको थियो । मुद्दा विचाराधीन हुँदा थप कारबाही गर्न नसकिएकाले अहिले पुल बन्द गरी राख्नुपरेको सूचना अधिकारी केसीको भनाइ छ । उनले भनिन्, ‘पुलसम्बन्धी मुद्दाको निर्णय आएपछि त्यहीअनुसार अघि बढाइनेछ ।’ कम्पनीले आफ्नोतर्फबाट निर्माण सकेपछि यातायात सञ्चालन गर्न चाहेको भए पनि कम गुणस्तरको बनेकाले नदिइएको डिभिजनले जनाएको छ । अहिले मुद्दा विचाराधीन भएकाले खोल्न नमिल्ने उनले बताइन् । पुलको माथिको बीचको भाग भत्काउनुपर्ने कार्यालयको भनाइ छ । पहिले निर्माण कम्पनीले रोक्नभन्दा नमानेर बनाएको संरचना स्वीकार गर्ने किसिमको नभएको उनले बताइन् ।  पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको हो । उक्त कम्पनीले टेकु र तीनकुनेमा रहेका दुईओटै पुल निर्माणको जिम्मा पाएको थियो । दुईओटै पुलमा गुणस्तरीय काम नगरेको भन्दै ठेक्का तोडिएको थियो ।  तीनकुनेमा रहेको पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको भए पनि यो पुलको मुद्दा अदालतमा रहेकाले लामो समयसम्म पुल अलपत्र अवस्थामा छ ।