निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट भए ११ ओटा उद्धार उडान

वैशाख ३१, चितवन । चितवन जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ ओटा उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ ओटा उडान भएका हुन् । यी सबै हेलिकप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीवार मात्रै तीनओटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना संक्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो । शर्माका अनुसार बिहीवार दाङको घोराई, गुल्मी र नेपालगञ्जबाट तीनओटा उद्धार उडान भएका छन् । यस्तै बुधवार गुल्मी, धनगढी र एउटा नेपाली सेनाको उद्धार उडान भएको थियो । यही वैशाख २८ गते काठमाडौं र दाङ, वैशाख २७ गते काठमाडौं र गुल्मीको तम्घास तथा २५ गते काठमाडौंबाट उद्धार उडान भएको शर्माले जानकारी दिए । जिल्लामा वैशाख १६ गते रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । यही वैशाख २० गतेसम्म आन्तरिक हवाई उडान भएका थिए ।  कार्यालयका अनुसार वैशाख २५ गतेदेखि उद्धार उडान हुँदै आएको छ । सिम्रिक एयर, प्रभु हेलिकोप्टर, श्री एयर, अल्टिच्युड एयर, कैलाश एयर र नेपाली सेनाको हेलिकोप्टरले उद्धार उडान गरेका हुन् । काठमाडौंलगायत मुख्य शहरी क्षेत्रमा संक्रमितको उपचारका लागि श्यया खाली नभएपछि एम्बुलेन्स र हेलिकोप्टरबाट यहाँ संक्रमित ल्याउने गरिएको छ ।  बाहिरी जिल्लाबाट ल्याइने संक्रमित अधिकांश चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका लागि पुयाउने गरिन्छ । रासस