अस्पतालदेखि कृषिमा यान्त्रिकीकरणसम्म सुनवलका योजना

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)स्थित सुनवल नगरपालिकाले १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । सुनवल–५ र ८ मा अस्पताल निर्माण हुन लागेको नगरप्रमुख विमला अर्यालले जानकारी दिइन् । पाँच वर्षभित्र सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रको एकीकृत विकासका योजना अगाडि बढाएको छ । ‘सेफहाउस’ सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउनेलगायतका योजना नगरपालिकाले अगाडि सारेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी तरकारी, माछा मासु, फलफूल, अण्डा, दूध र तेलहनमा आत्मनिर्भर हुनेगरी रणनीति तय गरिएको पनि नगरपालिकाले जानकारी दिएको छ । रासस