उपभोक्ता सचेत हुनुपर्नेमा मेयर कोइरालाको जोड

विराटनगर । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा विराटनगर महानगरपालिकाले उपभोक्ता सचेतनासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । बुधवार महानगरको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइरालाले उपभोक्ता आफै जागरुक र सचेत हुनुपर्नेमा जोड दिए । उपभोक्ता सचेत नभएसम्म ठगी नरोकिने उनले बताए । ‘राष्ट्रपतिदेखि सामान्य नागरिक पनि उपभोक्ता नै हुन्,’ मेयर कोइरालाले भने, ‘उपभोक्ता अधिकारका विषयमा महानगर गम्भीर छ ।’ उपमेयरको नेतृत्वमा नियमित बजार अनुगमन समेत भइरहेको उनले बताए । अन्तरक्रियामा उपमेयर शिल्पा निराला कार्कीले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई महानगरले कारबाही गरेको जानकारी दिइन् । नियमित र आकस्मिक बजार अनुगमन गर्ने गरेको उनले बताइन् । अझै पनि उपभोक्ता सचेतनामा कमी देखिएको उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उपभोक्ता सम्बद्ध संस्थाहरूले निःस्वार्थ रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गरे । ‘स्वच्छ ऊर्जामार्फत उपभोक्ता सशक्तीकरण’सम्बन्धी शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै उनले परम्परागत ऊर्जाको प्रयोग घटाउन आग्रह गरे ।  नवीकरणीय ऊर्जाको प्रयोग गरिनुपर्नेमा उनले जोड दिए  ‘दाउरा, कोइला र पेट्रोलियम पदार्थको खपत घटाएर जलविद्युत्, सौर्य र वायु ऊर्जाको विकास गरी प्रयोग बढाउनुपर्छ,’ उनले भने । सो अवसरमा वडा नं ७ का अध्यक्ष मधुबाबु तिवारी, ११ का तीर्थेन्द्र न्यौपाने, १९ का श्याम घिमिरेसहित उपभोक्तासँग सम्बन्धित संस्थाका प्रतिनिधिले उपभोक्ता अधिकारका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।