जेठ २, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले हालैका केही वर्षयताकै चरम पाइलट अभाव बेहोरिरहेको छ । कोरोना भाइरसको महामारीका कारण दुई वर्षभन्दा लामो समयसम्म प्रभावित रहेको हवाई यात्रामा विस्तारै सामान्य अवस्थामा फर्किरहेको बेलामै पाइलट अभावका कारण विमान सेवा प्रदायक कम्पनीहरु भने उडान कटौती गर्न बाध्य भएका छन् ।
समस्या समाधान गर्न एक जना कानून निर्माताले हाल ६५ रहेको पाइलटहरुको सेवा निवृत्तिको उमेर बढाएर ६७ मा पुर्याउनेबारे विचार गर्न भनेका छन् । एउटा क्षेत्रीय विमान सेवा प्रदायक कम्पनीले भने अमेरिकी विमान सेवा कम्पनीमा आबद्ध हुनु अघि पाइलटहरुले आकाशमा बिताएको समय ४ घन्टाबाट घटाउन प्रस्ताव गरेको छ ।
कम्पनीहरुले प्रवेशमा रहेको अवरोध घटाउन तालिम कार्यक्रमबारे पुनर्विचार गरिरहेका छन् । केही कम्पनीहरुले विदेशबाट पाइलट भर्ती गरिरहेका छन् । फन्टियरसमेत केहीले अष्ट्रेलियाबाट पाइलट ल्याएका थिए । छोटो दूरीका लागि भने कम्पनीहरुले हवाई टिकटको सट्टामा बसको टिकट बेचिरहेका छन् ।
पाइलटको अभाव समाधान हुन वर्षौ लाग्ने केही कार्यकारीहरुले बताइरहेका छन् । पाइलट अभाव वास्तविक भएको र पर्याप्त पाइलट नभएकोले कम्पनीहरुले आफ्नो क्षमता योजना पूरा गर्न नसक्ने युनाइटेड एयरलाइन्सका सीईओ स्कट किर्बेले हालै बताएका थिए । कम्तिमा पनि आगामी पाँच वर्षसम्म पाइलटको अभाव रहन सक्ने उनको भनाइ छ । पाइलट अभावका कारण हाल १५० ओटा विमान ग्राउन्डेड रहेको उनले बताएका छन् ।
अमेरिकामा किन चुलियो पाइलट अभाव ?
तालिम र लाइसेन्सिङ सुस्ताएपछि कोभिडको महामारीबीच पाइलट भर्ना रोकियो । महामारीको बेलामा हवाई यात्रको मााग घटेको समयमा विमान सेवा कम्पनीहरुले कर्मचारीको खर्च कटौती गर्न हजारौं पाइलट र अन्य कर्मचारीहरुले समय अगावै सेवा निवृत्ति दिए । तर अहिले भने कर्मचारीहरु थप पाइलट भर्ना गर्न र उनीहरुलाई तालिम उपलब्ध गराउन ब्याकुल छन् ।
अमेरिकाका मुख्य विमान सेवा प्रदायक कम्पनीहरुले यो वर्ष कूल १२ हजार पाइलट भर्ना गर्ने कोशिश गरिरहेका छन् । यो यस अघिको वार्षिक भर्तीको कीर्तिमानभन्दा दोब्बर भएको पाइलटसम्बन्धी परामर्श सेवा प्रदायक तथा युनाइटेड एयरलाइन्सका सेवानिवृत्त क्याप्टेन किट डार्बे भन्छन् । अभाव साना शहरबाट प्रमुख विमान सेवा प्रदायकको हबका लागि काम गर्ने क्षेत्रीय विमानसेवा प्रदायकमा झनै चरम छ ।
यी विमान सेवा प्रदायकहरुको कर्मचारी भर्ती र बोनस महामारी पूर्वकै स्तरमा फर्किएको भएपनि तलब भने प्रमुख विमान सेवा प्रदायकको भन्दा कम छ । साना हवाई सेवा कम्पनीहरुबाट यिनीहरु आक्रामक रुपमा पाइलट भर्ती गरिरहेका छन् । उडान कटौतीका कारण कम्पनीहरुले ठूलो घाटा बेहोर्नु परिरहेको छ । अभाव कम गर्न केही हवाई सेवा प्रदायकहरुले विशेष भिसामा अष्ट्रेलियाबाट पाइलट भर्ती गरिरहेका छन् ।
तर यो संख्या निकै कम छ । पाइलट र अन्य कामदारको अभावका कारण कम्पनीहरुले आफ्नो वृद्धि प्रक्षेपण घटाइरहेका छन् । नयाँ पाइलट ल्याउन सबैभन्दा ठूलो समस्या तालिम खर्च र समय हो । यो समस्या तत्कालै समाधान हुने संकेत छैन ।