महेन्द्रनगर । कञ्चनपुरस्थित वैजनाथ माध्यमिक विद्यालयले भवनको अभावमा दुई चरणमा अध्यापन गरिरहेको छ । वेदकोट नगरपालिका–२ जडेपानीमा रहेको उक्त विद्यालय ग्रामीण शिक्षामा अब्बल सावित हुँदै आए पनि पछिल्लो समय भवन अभावले दुई चरणमा अध्यापन गराउनुपर्ने अवस्था आएको हो ।
विद्यालयले पहिलो चरणमा कक्षा ९ देखि १२ सम्मको कक्षा बिहान ७ बजे शुरू गरिरहेको छ । दोस्रो चरणमा बिहान ११ देखि साढे ४ बजेसम्म कक्षा १ देखि ८ को अध्यापन गर्दै आएको छ । २०३३ सालमा स्थापित उक्त विद्यालयमा हाल १ हजार ४८३ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको उक्त संख्या बढेकाले कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक धीरेन्द्रचन्द्र भट्टले बताए । उनका अनुसार विद्यालयमा शिक्षकको समेत अभाव छ । मावि शिक्षकको दरबन्दी न्यून हुँदा निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनुपरेको उनको भनाइ छ ।
निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब उपलब्ध गराउन वेदकोट नगरपालिकाले अनुदान रकम उपलब्ध गराइरहेको उनको भनाइ छ । ‘एउटै कक्षालाई ३ भागमा विभाजन गरेर अध्यापन गराउनुपर्ने अवस्था पनि छ,’ उनले भने, ‘विद्यालयको शैक्षिकस्तर राम्रो हुनुमा यहाँका शिक्षक/शिक्षिकाको राम्रो भूमिका छ ।’
सो विद्यालयमा नमूना विद्यालय विकास कार्यक्रम अन्तर्गत १२ कोठे भवन निर्माणका लागि गतवर्ष डेढ करोड बजेट विनियोजन गरिएको थियो । भवन निर्माण शुरू भए पनि कोभिड लगायत कारणले काम रोकिएको छ । मावि तहमा १२ शिक्षकको दरबन्दी आवश्यक रहे पनि स्थायी दरबन्दी तीन मात्र छ । माविमा निजी स्रोतबाट पाँच शिक्षकले अध्यापनरत छन् । रासस