जिम्बाब्वेको ‘ए’ टिमसँग टी–२० र एकदिवसीय तीन–तीन खेलको शृङ्खला खेल्ने घोषणा हुँदा नेपालले शृङ्खला जित्ने सम्भावना देख्ने शायद कमै थिए किनभने नेपालले पहिलो पटक अहिलेसम्मकै बलियो प्रतिस्पर्धीसँग शृङ्खला खेल्न लागेको थियो । जिम्बाब्वे टेस्ट मान्यताप्राप्त राष्ट्र हो । हुन त जिम्बाब्वेको दोस्रो दर्जाको टिम हुँदा यो अन्तर्राष्ट्रिय मान्यताप्राप्त शृङ्खला थिएन । नेपाल आउने जिम्बाब्वेको ‘ए’ टिममा स्टार खेलाडी पनि थिएनन् तर आठ जना त्यस्ता खेलाडी थिए, जसले जिम्बाब्वेको राष्ट्रिय टिमबाट टेस्ट अथवा एकदिवसीय खेल खेलिसकेका थिए । त्यसैले घरेलु मैदानमा नै भए पनि जिम्बाब्वेको चुनौती पार गर्न नेपाललाई कठिन हुने अनुमान गरिएको थियो तर नेपालले आफ्नो भूमिमा जिम्बाब्वे ‘ए’लाई शृङ्खला जित्न दिएन । वर्षाका कारण दुई खेल मात्र सम्भव भएको तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–१ ले बराबरीमा रोकियो तर नेपालले एकदिवसीय शृङ्खला २–१ ले हात पारेर यस शृङ्खलालाई अविष्मरणीय बनायो । जिम्बाब्वे ‘ए’ टिमलाई हराएपछि नेपालको प्रशंसा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत गरेका छन् ।