काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि माघ १२ गतेसम्म मात्र आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले विक्री अवधि नलम्बिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
बुधवारसम्म कम्पनीको आईपीओ खरीदका लागि १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ता शेयर खरीद माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले दिएको जानकारी दिएको छ । जुन मागभन्दा ६ दशमलव ८३ गुणा बढी आवेदन हुन आउँछ ।
कम्पनीले सर्वसाधारणमा १७ लाख ४३ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो । सर्वसाधारणमा कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रूपैयाँको १० प्रतिशत अर्थात् २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता शेयर छुट्याएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपाली र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । बाँकी शेयरमध्ये ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागिएको हो ।
सार्वजनिक निष्कासनमार्फत विक्री गरिने कम्पनीको आईपीओ १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले हात पार्नेछन् । यो आईपीओ खरीदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग गरी ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
२०७५ साल जेठ ८ गतेदेखि निरन्तर रूपमा यस आयोजनाको निर्माणकार्य भरहेको छ । २०७८ साल जेठ २८ गतेदेखि यो आयोजनाबाट व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य लिइएको भए पनि विश्वव्यापी रूपमा फैलिएको कोभिड तथा बाढी पहिरोका कारण हालसम्म यस आयोजनाको ८९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।
आयोजनको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १८ करोड ९७ लाख ७२ हजार ७२७ रूपैयाँ हुने अनुमान गरिएको छ । कुल लागत भने ८ अर्ब ३५ करोड रूपैयाँ पुग्ने अनुमान कम्पनीको छ ।