काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न थालेको छ । सरकारको पूँजीगत खर्चमा वृद्धि र बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदरसमेत बढाएपछि बैंकिङ प्रणालीमा निक्षेप थपिएको हो ।
नेपाल बैंकर्स संघका अनुसार फागुन महीनामा वाणिज्य बैंकहरूमा २२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । माघ महीनामा भने बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो ।
बैंकहरूले माघ महीनाको तुलनामा फागुनमा बचतको ब्याजदर १० प्रतिशतले वृद्धि गरेका थिए । यसअनुसार वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्याएका थिए ।
निक्षेप उत्साहजनक वृद्धि नभए पनि सामान्य सुधार देखिएको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्ययले जानकारी दिए । बैंकहरूले चैत महीनामा ब्याजदर वृद्धि गरेका छैनन् ।
माघ मसान्तको तुलनामा फागुन मसान्तमा १७ ओटा बैंकको निक्षेप वृद्धि भएको छ भने १० ओटाको घटेको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको निक्षेप ४ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । यसैगरी सबैभन्दा बढी नबिल बैंकको २ अर्ब ७८ करोड निक्षेप घटेको छ ।
चालू आर्थिक वर्ष शुरू भएलगत्तै कर्जा प्रवाहमा आक्रामक भएका बैंकहरूको कर्जा–निक्षेप (सीडी) अनुपात तथा तरलता अभावका कारण खुम्चिन थालेको छ । बैंकहरूले फागुनमा १७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । अघिल्लो महीना पनि १२ अर्ब मात्र कर्जा लगानी गरेका थिए ।
फागुन मसान्तमा बैंकहरूको औसत सीडी अनुपात ९० दशमलव ९९ प्रतिशत रहेको बैंकर्स संघले जानकारी दिएको छ । बैंकहरूले २०७९ असार मसान्तसम्ममा सीडी अनुपात ९० प्रतिशतभन्दा कम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले हाल २२ बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । बैंकिङ प्रणालीमा १२–१५ अर्ब तरलता भए पनि सीडी रेसियोका कारण बैंकहरूको कर्जा प्रवाह खुम्चिएको उनले बताए ।
चालू आवको ८ महीनामा वाणिज्य बैंकहरूले १ खर्ब ३१ अर्ब १२ करोेड रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।
बैंकहरूको कर्जा प्रवाह वार्षिक लक्ष्यभन्दा बढी भएपछि राष्ट्र बैंकले निरुत्साहित गर्न बैंकदर वृद्धि गर्नुका साथै विभिन्न सामान आयातका लागि नगदमै मार्जिन राख्नुपर्ने व्यवस्थासमेत गरेको छ ।