सौराहाका ३५ सय कोठा ‘बुक’, एमाले कार्यकर्तालाई २ रात सुत्ने र ५ छाक खाने व्यवस्था

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुँदैछ । महाधिवेशनको मिति नजिकिएसँगै चितवनका होटल व्यवसायी उत्साहका साथ आतिथ्य सत्कारमा जुटिसकेका छन् ।एमालेको महाधिवेशनमा ५ लाख बढी नेता कार्यकर्ता उपस्थित हुने छन् । नारायणी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा हुनेछ । जसका कारण सौराहाका होटल व्यवसायीहरुलाई एमाले महाधिवेशनले उत्साह थपिदिएको छ ।सेवा सुविधा थप गर्नेदेखि होटलको सजावटमा व्यवसायीहरु व्यस्त छन् । कोरोनाको मार खेपेर बल्ल खुलेका होटलहरुले राहतको महशुस गर्ने बताउँछन् चितवन होटल एण्ड रेष्टुरेन्टका सञ्चालक कृष्ण क्षेत्री । चितवन ल्याण्डमार्क होटलकी सञ्चालक पार्वता पाण्डे आफूहरुले एमालेको महाधिवेशन केन्द्रित तयारी करिब करिब सकेको र बिदामा रहेका ‘स्टाफ’हरुलाई पनि काममा फर्काइसकेको बताउँछिन् ।होटल व्यवसायी संघ चितवनका अध्यक्ष दीपक भट्टराई एमालेले महाधिवेशनका लागि चितवनलाई रोज्नु भनेको विदेशी अतिथिमार्फत चितवनको बारेमा अन्तराष्ट्रिय स्तरमा प्रचार हुनु भएको बताउँछन् । उनले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनले कोरोनाबाट थलिएका चितवनका होटल व्यवसायीलाई राहत मात्रै नभई निरन्तर व्यवसायमा क्रियाशील हुन प्रेरित पनि गर्ने बताए ।३५ सय कोठा बुक, ४५ सयसम्म ‘चार्ज’एमालेले चितवनमा ३५ सय कोठा (बेड) लिने गरी सम्झौता नै गरेको छ । २१ सय महाधिवेशन प्रतिनिधि, १५ सय स्वयंसेवक र ५ सय अतिथि तथा पत्रकारका लागि गरी कुल ३५ सय बेड लिने गरी एमालेले क्षेत्रीय होटल संघ सौराहासँग सम्झौता नै गरेको छ ।महाधिवेशनलाई नै केन्द्रित गरेर होटल व्यवसायीहरूले अरु समयमा १० हजार रुपैयाँ ‘चार्ज’ लाग्ने कोठा अहिले ४५ सयमै उपलब्ध गराउने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अनुसार न्युनतम् १५ सयदेखि ४५ सयसम्मका कोठा उपलब्ध गराईएको छ । संघको सदस्य रहेका होटलले मूल्यमा एकरुपता कायम गर्न प्याकेज ल्याएका हुन् ।संघमा आवद्ध होटलहरुमा कुल ६५ सय बेड छन् । यहाँ ए, बी, र सी ग्रेडमा होटलको वर्गीकरण गरिएको छ । ए ग्रेडका होटलमा स्वीमिङ पुल र एयर कन्डिसनको सुविधा उपलब्ध हुनेछ । यस्ता होटल चितवनमा २० वटा छन् । बी र सी ग्रेडका होटलमा भने स्वीमिङ पुल र एयर कन्डिसन सुविधा उपलब्ध हुँदैन ।‘ए’ ग्रेडका होटलको एउटा कोठाको एक दिनको ४५ सय, ‘बी’ ग्रेडको होटलको एउटा कोठाको एक दिनको लाई २५ सय र ‘सी’ ग्रेडको होटलको एउटा कोठाको एक दिनको १५ सय शुल्क तोकिएको छ ।२ रात सुत्ने, ५ छाक खाने व्यवस्थाएमालेले महाधिवेशनको लागि चितवन पुग्ने कार्यकर्तालाई २ रात सुत्ने र ५ छाक खाने व्यवस्था गरेको छ । महाधिवेशनको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार यदि पार्टीले दिएको सुविधा भन्दा बढी उपभोग गर्न चाहे वा बढी समय बस्ने र घुमफिर गर्न चाहे आफैँले खर्चको व्यवस्था गर्नुपर्ने छ ।महाधिवेशन अवधिमा सौराहामा मात्रै ५ करोड बढी कारोबार हुने अपेक्षा व्यवसायीको छ । महाधिवेशन लागेसँगै व्यवसायीले अरु प्रयोजनका लागि होटल बुकिङ ‘क्यान्सिल’ गरेका छन् ।