सुन आयातमा लगाइएको विलासिता करको विरोध

काठमाडौं  । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाएको भन्दै व्यवसायीले विरोध गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त बैठकले सरकारको यो निर्णय आम सुनचाँदी व्यवसायीको हित विपरीत भएको भन्दै विरोध गरेका हुन् । भन्सार दरमा गरिएको अस्वाभाविक वृद्धिले नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्ने भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘अस्वाभाविक रूपमा भन्सार बढाउँदा विदेशमा भन्दा नेपालमा सुनचाँदीका गरगहना महँगो पर्ने भएकाले विदेशमा बस्ने नेपालीले नेपालीभन्दा विदेशी गरगहना नै किन्ने अवस्था सृजना भई स्वदेशी रोजगारी गुम्ने र व्यापार घाटा बढ्ने देखिन्छ,’ व्यवसायीले भनेका छन् ।