युरोपलगायतका देशमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संस्करणले जनजीवन प्रभावित छ । यसै हप्ताबाट भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा सङ्क्रमण बढेपछि कतिपय ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ । भारतमा सङ्क्रमितको सङ्ख्या अस्वाभाविकरूपमा बढेपछि त्यसको दबाब र प्रभाव नेपालमा पर्ने देखिन्छ । लामो खुला सीमा, नागरिक स्तरमा हुने दिनहुँको आउजाउ, सामाजिक अन्तक्र्रियाका कारण भारतमा आउने यस्ता समस्याको प्रभाव नेपालमा पर्ने गर्छ । अवस्थाको मूल्याङ्कन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले भीडभाड हुने कुनै पनि किसिमका सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । केही समययता सङ्क्रमणको घट्दो दर, खोपको प्रयोगजस्ता कारण सर्वसाधारणले विगतको कोरोना कहर बिर्सिएजस्तो देखिन्छ ।
भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपाल उच्च जोखिममा पर्ने भएकाले सरकारले तत्कालै प्रभावकारी कदमको तयारी गरेको छ । पछिल्ला दिनमा कोरोनाबाट सुरक्षित रहन सामान्य होसियारी तथा सुरक्षात्मक विधि पनि अपनाइएको देखिँदैन । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला कुन कुन सर्त र प्रावधान पूरा गरेर सार्वजनिक जीवन सुचारु गरिएको थियो भन्ने हेक्का आम नागरिकले बिर्सिएजस्तो देखिन्छ । सरकारले सार्वजनिक यातायातले पूरा गर्नुपर्ने स्वास्थ्य सुरक्षाका सर्त तोकेर यातायात सञ्चालनको अनुमति दिएको थियो तर त्यस्ता सर्त यात्रु तथा व्यवसायीले कति पालन गरेका छन् भन्ने स्पष्ट चित्र सार्वजनिक बसहरूमा देखिन्छ । यस्तो अवस्थामा आफू र परिवारका सदस्यको स्वास्थ्य सुरक्षाका लागि हरेक व्यक्तिले सुरक्षाका विधि अपनाउनै पर्छ । सरकारको निर्देशन र निर्णयभन्दा पनि आफँै सुरक्षित हुने सामान्य विधिमा नागरिकले ध्यान दिनैपर्छ । देशभर फागुपूर्णिमाजस्ता भीडभाड हुने खालका चाडवाड आउने क्रममा छन् । लामो समय रोकिएका कतिपय भीडभाडजन्य सार्वजनिक कार्य गर्नुपर्ने अवस्था पनि छ । विद्यार्थीको परीक्षाको तयारी छ । कतिपय यस्ता कार्यलाई पूर्णतः रोक्न सम्भव छैन तर अनावश्यक जुलुस, ¥याली, सभा, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय सञ्चालनमा सरोकारीहरू स्वयम् सचेत हुनपर्छ । हात धुने, मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यका सामान्य मापदण्ड पालनामा नागरिक आफँैले आफूलाई जिम्मेवार बनाउनुपर्छ ।