जेफ बेजोसलाई संसारकै धनी बनाउने त्यो ‘आइडिया’

जेफ बेजोस ई-कमर्स जायन्ट कम्पनी अमेजनका संस्थापक हुन् । अमेरिकी नागरिक बेजोसको पूरा नाम जेफ्री प्रेस्टोन बेजोस हो ।  यो सामग्री तयार पार्दासम्म  उनको रियल टाइम नेट वर्थ २०१ बिलियन अमेरिकी डलर छ । पछिल्लो तथ्याङ्क अनुसार बेजोस संसारकै सर्वाधिक धनी व्यक्ति हुन् । संसारकै सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनका मालिक उनको सम्पत्ति सन् २०१८ को तुलनामा ३३ प्रतिशतभन्दा बढीले वृद्धि भएको तथ्याङ्क छ । सन् २०१८ को जुलाईमा बेजोसको सम्पत्ति १५० बिलियन डलर थियो । सोही वर्ष उनले 'आधुनिक ईतिहासको सर्वाधिक धनी व्यक्ति'को उपाधि पाएका थिए । अमेजन नामको ‍ई-कमर्स कम्पनी स्थापना गर्ने आइडिया भने डीई श एन्ड कम्पनीमा काम गर्दा फुरेको थियो ।व्यवसायका लागि जागिर छाडेकलेज लेभलको पढाई सकेपछि केही वर्ष बेजोस वाल स्ट्रिटस्थित विभिन्न कम्पनीमा जागिरेको रुपमा रहे । उनले सन् १९८६ मा प्रिन्सटन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर साइन्सको डिग्री पूरा गरेपछिका करिब ६ वर्ष जागिरे जीवन बिताए । अमेजन कम्पनी स्थापना गरेर व्यवसाय थाल्नुअघि उनले फिटेल, बैंकर ट्रस्ट, लगायत कम्पनीमा काम गर्थे ।जागिरकै सिलसिलामा सन् १९९० मा डीई श एन्ड कम्पनीमा काम सुरु गरे । बेजोस सो कम्पनीमा ४ वर्षभन्दा बढी टिकेनन् । कम्पनीमा आफ्नो करिअर निकै राम्रो भईरहेको बेला उनी कम्पनीबाट बाहिरिए । डीई श एन्ड कम्पनीमा काम गर्दा उनी सबैभन्दा कम उमेरमा उपाध्यक्ष भएका थिए । उक्त कम्पनीमा उनले पाएको जिम्मेवारीले अमेजन कम्पनी स्थापना गर्ने ‘आइडिया’ दियो । बेजोस डीई श एन्ड कम्पनीमा इन्टरनेटमार्फत हुने व्यवसायमा लगानीको लेखाजोखा गर्ने इन्चार्जको जिम्मेवारीमा थिए । त्यहाँ काम गर्दाका बखत इन्टरनेट प्रयोगकर्ताको संख्या एक वर्षमा दुई हजार गुणासम्म बढेको थाहा पाएपछि बेजोसले जागिर छोडेर आफ्नै कम्पनी सुरु गर्ने निर्णय लिए । अन्ततः त्यही अमेजन कम्पनीले उनलाई विश्‍वकै सर्वाधिक धनी व्यक्ति बनाइदियो ।जीवनमा उतारचढावजेफ बेजोसको जन्म सन् १९६४ जनवरी १२ मा भएको हो । उनी विश्वप्रसिद्ध प्रविधि उद्यमीमात्रै नभएर ई-कमर्सका 'पायोनियर' हुन् । बेजोस ज्याकलिन गिज जोगेनसन र टेड जोगेनसनका पुत्र हुन् । जेफ ४ वर्षको हुँदा उनकी आमा ज्याकलिनले अमेरिकी व्यापारी मिगेल बेजोससँग दोस्रो विवाह गरिन् । क्युबाली मूलका व्यापारीसँग आमाको विवाह भएपछि मिगेलले जेफलाई कानूनीरुपमै आफ्नो सन्तान बनाए । मिगेल बेजोस फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युबामा भएको विद्रोहका कारण अमेरिका बसाइँ सरेका थिए । उनले कानूनीरुपमा आफ्नो सन्तान बनाएपछि जेफको थरपनि बेजोस भयो । उनका बाबु टेड जोगेनसनसँग भने कानूनी नाता तोडियो । यसप्रकार जेफ्री प्रेस्टोन जोगेनसनबाट उनी जेफ्री प्रेस्टोन बेजोस बन्‍न पुगे । कालान्तरमा व्यावसायिक सफलता हासिल गर्दै गएपछि उनै जेफ्रीलाई संसारले जेफ बेजोसको रुपमा चिन्यो ।चार सन्तानका बाबु जेफ बेजोसको २५ वर्षको वैवाहिक जीवन सन् २०१९ मा टुङ्गियो । बेजोस र उनकी पत्‍नी मेकेन्जीबीचको सम्बन्धविच्छेदलाई संसारकै महङ्गो सम्बन्ध विच्छेदका रुपमा लिइन्छ । सम्बन्ध विच्छेदसँगै उनले आफ्नो नाममा भएको अमेजनको सेयरको एक चौथाई हिस्सा पूर्वपत्‍नीलाई हस्तान्तरण गरेका थिए ।व्यवसायिक सफलता र प्रसिद्धिई-कमर्स जायन्ट कम्पनी अमेजन सन् १९९५ मा स्थापना भयो । जेफ बेजोसले आफ्नो कम्पनीको नाम दक्षिण अमेरिकी महादेशमा बग्ने संसारकै ठूलो नदीको नामबाट लिए ।जागिर छोडेर नयाँ सोचका साथ व्यवसायमा होमिएका बेजोसको व्यवसाय पृथ्वीमा मात्रै सिमित छैन । उनको व्यवसायको क्षेत्र अन्तरिक्षसम्म पुगिसकेको छ । ब्लु ओरिजिन नामको स्पेस फ्लाइट कम्पनी पनि बेजोसकै नाममा छ । त्यससँगै उनी विश्वप्रसिद्ध पत्रिका द वासिङ्टन पोस्ट, बेजोस एक्सपिडिसन नामक भेन्चर क्यापिटल, डे वान फन्ड आदि संस्थाको सञ्चालकको रुपमा सक्रिय छन् । कोरोना भाईरसको महामारी सुरु भएयता बेजोसको सम्पत्तिमा २४ बिलियन डलरले बढोत्तरी भएको छ । सन् २०२० मा मात्रै उनको सम्पत्ति ३८ प्रतिशतले वृद्धि भएको हो । सन् २०२० को अप्रिलमा बेजोसले फिड अमेरिका नामक गैरनाफामूलक संस्थालाई १०० मिलियन अमेरिकी डलर सहयोग दिने घोषणा गरेका छन् । बेजोसको कम्पनी ब्लु ओरिजिनले कमर्सियल युजका लागि रकेटको विकास गरिरहेको छ । उनले नेतृत्व गरेका कम्पनीमा कामदारको ज्याला अमेरिकी सरकारले तोकेको औसत ज्यालादर भन्दा झन्डै दोब्बर र वाल स्ट्रिटका अन्य कम्पनीको तुलनामा निकै बढी छ । अमेजन कम्पनीको स्थापना कालदेखि नै कार्यकारी अध्यक्ष र सीईओको जिम्मेवारी लिएका बेजोसले गत जुलाई ५ तारिखदेखि सीईओ पद छाडेका छन् । यतिखेर अमेजन कम्पनीको सीईओ पदमा एन्डी ज्यास्सी कार्यरत छन् । सीईओ पद छाड्ने घोषणासँगै बेजोसले आफ्ना सहकर्मी र कर्मचारीलाई लेखेको ईमेलमा भनेका छन्, 'जिम्मेवारी हस्तान्तरणले मलाई डे वान फन्ड, बेजोस अर्थ फन्ड, ब्लु ओरिजिन, द वासिङ्टन पोस्ट र अरु सौख पूरा गर्ने 'समय र उर्जा' दिनेछ ।'