बजार भाउ बढ्दा उपभोक्ता मारमा

दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । सानोतिनो कमाइले परिवार धान्न गाह्रो भएको अनुभव सहकारीमा पैसा सङ्कलनको काम गर्ने विष्णुमाया क्षेत्रीले सुनाउनुभयो । दैनिक एक हजार रुपियाँले चार जनाको परिवारलाई सामान्य खाएर दुई छाक टार्न गाह्रो भएको अनुभव विष्णुमायाको छ । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।”