काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ?

पुस २१, काठमाडौं । काठमाडौं उपत्यकाको ‘सेन्टर पोइन्ट’ बाट करीब १५ किलोमिटर टाढा छ ललितपुरको गोदावरी क्षेत्र । तर यहाँको जग्गाको मूल्य भने करीब १०/११ किलोमिटरको दुरीमा रहेका मुलपानी, बालुवाखानी, टोखा, गोलढुङ्गा, रामकोट, चन्द्रागिरी, कीर्तिपुर, बुङमतिलगायतका क्षेत्रको भन्दा महंगो छ । १० किलोमिटर टाढा रहेका क्षेत्रमा अहिले पनि प्रतिआना १० देखि १५ लाख रुपैयाँसम्ममा जग्गा किन्न पाउँदा १५/१६ किलोमिटर टाढा रहेको गोदावरी क्षेत्रमा भने प्रतिआना २५ देखि ३० लाख रुपैयाँ मूल्य पुगेको छ । किन महंगियो गोदावरी क्षेत्र ? आजभन्दा दुई वर्ष अघिसम्म गोदावरीमा पनि अन्य ठाउँको जस्तै प्रतिआना ६/७ लाखदेखि १०/१२ लाख रुपैयाँसम्ममा छानी छानी जग्गा किन्न पाइन्थ्यो । तर दुई वर्षको अन्तरमा गोदावरीमा जग्गाको मूल्य ३ गुणा बढिसकेको छ भने दुई वर्षअघि गोदावरीको जतिनै मूल्य रहेका ठाउँहरुमा अहिले पनि प्रतिआना १० देखि १५ लाख रुपैयाँमै जग्गा किन्न सकिन्छ । गोदावरीका जग्गा व्यावसायी रीशभ श्रेष्ठका अनुसार पछिल्लो समय गोदावरी-लेले सडक ४२ फिट चौडाइमा स्तरोन्नती गरेर कालोपत्र गरेका कारण जग्गाको भाउ ह्वात्तै बढेको छ । गोदावरीमा बसेर काठमाडौंको अफिस आउनु र सातदोबाटोमा बसेर अफिस जानुमा धेरै फरक नभएपछि गोदावरीको जग्गाको मूल्य पनि सातदोबाटो आसपासकै जग्गाको हाराहारीमा बढेको जग्गा व्यावसायीहरु बताउँछन् । गोदावरीको जग्गाको मूल्य बढ्नुको अर्को कारण गोदावरीमा बनेको सभा हल पनि एक हो। यो बाहेक यहाँ सेन्जेभियर्स स्कुलले आफ्नो मुख्य स्कुल र कलेज यहि सञ्चालन गर्ने गरि काम गर्नु पनि अर्को कारण हो ।तर गोदावरीमा बनेका र बन्ने यी संरचनाले यहाँको जग्गाको मूल्य बढाउन सहयोग गरेपनि मुख्य कारण भने अर्कै रहेको स्थानीय बताउँछन् । गोदावरीको जग्गाको मूल्य बढ्नुको मुख्य कारण भनेको पछिल्लो समय जग्गा प्लटिङ गर्ने अधिकांस व्यवसायीले गोदावरीका ठूला- ठूला फाटमा कब्जा जमाउनु रहेको गोदावरीका स्थानीय बलबहादुर चन्दले बताए ।  अहिले गोदावरीमा जताततै प्लटिङ गरिएका जग्गा मात्रै छन्। खाली देखिने जग्गा पनि जग्गा व्यवसायीले खरीद गरेर राखिसकेका छन्। कसैले स्थानीयबाट ४/५ आना मात्रै जग्गा किन्छु भन्यो भने पाउने अवस्था छैन । व्यवसायीको हातमा परेको जग्गा प्रतिआना २०/२५ लाख घटिमा बेच्दै बेच्दैनन्। त्यसकारण यहाँको जग्गाको भाउ थप बढेको स्थानीयहरु बताउँछन् । चक्रपथ नजिकका सबै ठाउँमा प्लटिङ गर्ने जग्गा सकिएपछि व्यवसायीहरुको रोजाइमा चौडा सडक सञ्जालले जोडिएको गोदावरी क्षेत्र परेको व्यवसायी श्रेष्ठले बताए । प्लटिङ गर्नेक्रम बढेसँगै गोदावरीमा अहिले जग्गाको मूल्य प्रतिआना २५ देखि ३० लाख रुपैयाँ सम्म पुगेको छ । गोदावरी क्षेत्रमा अहिले कुनाकाप्चामा पनि प्लटिङ गरिएका जग्गाहरु प्रतिआना १५/१६ लाख घटि पाइदैन । जवकी गोदावरी जतिनै टाढा रहेका अरु ठाउँमा जाने हो भने अहिलेपनि प्रतिआना ६/७ लाख देखि १०/१२ लाख रुपैयाँ सम्मका जग्गा सजिलै किन्न सकिन्छ । यो पनि पढ्नुस-काठमाडौंमा अहिले पनि पाइन्छ प्रतिआना ५ लाखमै जग्गा, तर किन्नु अघि यी कुरामा ध्यान नदिए फसिन्छ ! जग्गाको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप कति आवश्यक ? यसरि नै मूल्य बढे ५ वर्षपछि विकास निर्माण ठप्प !  घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोक्ने तयारी अब स्थानीय तहका केन्द्रबाटै मालपोत कार्यालयका सेवा दिने तयारी तपाईले किनबेच गर्ने घरजग्गाको वैज्ञानिक मूल्य कति ? आम्दानीअनुसार यसरि निकाल्नुस मूल्य आनाको ५ देखि १० लाखमै जग्गा पाइने उपत्यकाका यी ठाउँ, सबैको रोजाइमा परेपनि किन छन् सुनसान ?