सरकारले ५ एम्पियरको सिंगल फेजको विद्युत् प्रयोग गर्ने उपभोक्ताले प्रयोग गर्ने २० युनिटसम्मको विद्युत् शुल्कलाई निःशुल्क बनाएर २२ लाख उपभोक्तालाई फाइदा पु¥याएको छ । गरीब जनताको दृष्टिकोणबाट यो एक मानवीय कार्य हो । विद्युत् उत्पादन, प्रसारण, व्यापारमा पारदर्शिता, लगनशीलता, आक्रमणता आजको चिन्तनीय अग्रगमन हो । अब जलविद्युत् उत्पादनमा तीव्रता ल्याएर विदेशमा विक्री गर्नु नेपालका लागि अति आवश्यकीय आर्थिक क्रियाकलाप हो । आफ्नै देशको उत्पादनको फल जनतालाई दिने सरकारको कामले आम नागरिकमा सकारात्मक सन्देश गएको छ ।
पूँजीवादको होड, गरीबीको बढ्दो म्यारथनका बीच निःशुल्क भन्ने शब्द सम्भवतः ज्यादै कठोर शब्द हो तसर्थ सरकारले यो निःशुल्क बनाउन उत्पादन लागत बराबर रकम विद्युत् आपूर्ति गर्ने निकायलाई अनुदान दिन्छ होला । जे होस् अहिले कोरोनाको कारण तहसनहस गरीब र न्यून मध्यम वर्गलाई यो घोषणाले पक्कै राहत दिएको होला । यसबाहेक सिँचाइका लागि पानी तान्दा लाग्ने शुल्कमा ८० प्रतिशत छूट गरिएको छ ।
किसानलाई विद्युत् महसुल घटाउनु ज्यादै नै उच्चस्तरको नेतृत्व परिचायक हो । किसानले आमजनतालाई पालनपोषण गरिरहेको हुन्छ । आज उनीहरूका समस्या दिनानुदिन बढ्दै गएका छन् । एकातर्फ रासायनिक मल समयमा पाइँदैन, काम गर्ने कामदारको अभाव छ र जति प्राप्त छ त्यो महँगो छ । बीउ खरीद पनि महँगो बन्दै गएको छ । यस्तै समस्याको बीचमा अलिकति विद्युत् महसुल छूटले राहत दिएको छ ।
ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालय नेपालको समृद्धिको सम्बन्धमा यो सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय हो । यसको सही नेतृत्वले देशको आगामी दशा र दिशा बदलिन सक्छ । अहिले ऊर्जामन्त्री पम्फा भुसालले गरेको निर्णय लोकप्रियता हो वा सफलता यसको बारेमा राम्ररी बुझ्न अलिक समय पर्खिनुपर्छ ।
लोकप्रियता जहिले पनि चुनावको वरिपरि घुम्छ भने सफलता देशको सुदूर भविष्यसँग जोडिएको हुनुपर्छ । मन्त्रीले बुझ्न के जरुरी छ भने सबै लोकप्रियहरू सफल हुँदैनन् र वास्तविक सफलहरू लोकप्रिय नहुन सक्छन् । जनताका लागि सफल नेतृत्व लोकप्रिय भन्दा बढी उपयोगी हुन्छ । लोकप्रियता सफलताको विकल्प होइन तसर्थ जलस्रोतको क्षेत्रमा सफल पम्फा भुसाल लोकप्रिय पम्फा भुसालभन्दा कैयौं गुणा उपयुक्त हुनेछ ।
कुलमानसिंहलाई विद्युत् प्राधिकरणमा ल्याउनु पनि लोकप्रियतामा सीमित नरहोस् । उनीबाट सफलता खोजिएको छ । हरेक क्षेत्रमा नियुक्त गर्दा हाम्रो भन्दा योग्य व्यक्ति छनोट नगरेसम्म सफलता आफै उफ्रेर आउँदैन । केही राष्ट्रिय विगतहरू यसकारण तहसनहस भएका छन् जहाँ योग्य व्यक्तिलाई भन्दा दासस्यभावका पादस्पर्शकहरूलाई बढी अवसर दिए । लोकप्रिय बन्नका लागि एउटा टिकटक काफी छ सफल बन्नका लागि अनेक सही निर्णय, सुझबुझ र दृष्टिकोणको खाँचो छ । मन्त्री भनेको सफल बन्ने अवसरको नाम हो जसले देशको नेतृत्व गर्ने अवसर पाएको हुन्छ । त्यो अवसरमा विगतका कसैलेभन्दा असाधारण काम गर्ने क्षमता राख्नुपर्छ ।
यहाँ केबल ऊर्जामन्त्रीको सन्दर्भमा किन भनिँदै छ भने जलविद्युत् नेपालको सबैभन्दा सम्भावना बोकेको क्षेत्र हो । यो आम नेपालीको सम्पन्नताको द्वार हो । विद्युत् महसुलमा छूट, वृद्धभत्तामा केही वृद्धि, ग्यासमा केही अनुदानले मात्र गरीबी हट्छ भन्ने मान्यताबाट माथि उठेर अत्यधिक उत्पादन र निर्यातप्रेमी नेतृत्व आजको आवश्यकता हो ।
कार्ल पोपरका अनुसार बाँच्नका लागि सम्पूर्ण मानवमा समस्या समाधान गर्ने अथाह शीप चाहिन्छ । त्यसैले यस्तो शीप आम मानिसमा भन्दा उच्च पदस्थहरूमा भयो भने त्यसले सुनमाथि सुगन्ध ल्याउन सक्छ । समस्याको समाधान गर्न सर्वप्रथम समस्याको जड भेट्न जरुरी छ ।
अधिकांश नेता समस्या पत्ता लगाउने काममा अलमल छन् । यस्तो अलमल लामो समयदेखि देखिएको छ । नेपालको जलस्रोत, जलविद्युत्, वैकल्पित ऊर्जालगायत क्षेत्रबाट सम्पन्नता ल्याउनमा केके समस्या छन् र तिनलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा ध्यान केन्द्रित गरिएमा मात्र ऊर्जा निर्यातको माध्यमबाट नेपालीको आयस्तर सुधार गर्न सकिन्छ ।
हरेक क्षेत्रमा असल नेतृत्व सबै देशका लागि आवयक छ । तर, नेपालका लागि जलस्रोत क्षेत्रमा अति उच्चस्तरका नेताको आवश्यकता छ । यस्तो उच्चस्तरको नेतृत्व जलस्रोतको क्षेत्रबाट नै निस्किन जरुरी छ । विश्वमा एकातिर पानीको अभाव तीव्र रूपमा विकराल भइरहेको छ भने अर्कोतिर अतिवृष्टिले बाढीपहिरो आइरहेको छ । पानी बढी र कमीको कारणले विश्वमा हजारौं मानिस वातावरणजन्य शरणार्थी बन्न बाध्य भइरहेका छन् । यस्तो बेलामा नेपालको जल उपयोगमा तीक्ष्णता अति आवश्यक छ ।
अव विश्वमा तस्रो विश्व युद्ध हुन्छ भने पानीको अभावको कारणले हुनेछ भन्न भनाइ प्रचलनमा आउन थालेको छ । तर, नेपाल जलस्रोतको क्षेत्रमा अति नै सम्पन्न छ । नेपालबाट प्रत्येक वर्ष २२५ अर्ब घनमीटर पानी बग्छ र लगभग ४३००० मेगावाट जलविद्युत्को सम्भावना छ । यो अवस्थामा जलस्रोत र ऊर्जाक्षेत्रमा अति उच्च नेतृत्वको ओहोदा अनन्तकालदेखि रिक्त छ । अझै पनि रिक्तस्थान परिपूर्ति भएको छैन त्यसमा आवेदन दिने अवसर बर्तमान मन्त्रीलाई पनि छ ।
बग्दै गरेको पानीलाई रोकेर सिँचाइ, विद्युत्, खानेपानी व्यवस्थापन, नदीपथान्तरण, जलसवारी आदि कार्य निस्पादन गर्ने अवसरको उचित सदुपयोग गर्ने मौका जलस्रोत मन्त्रीमा छ । अहिले नेपालको जलउपयोग दक्षता शून्य दशमलव ६ अमेरिकी डलरप्रति घनमीटर छ । यसलाई माथि लैजान जरुरी छ । यसबाहेक २ छिमेकी राष्ट्र चीन र भारतमा बिजुलीको अभावले लोडशेडिङ कार्यतालिका बढी रहेको बेलामा जलस्रोत क्षेत्रमा अति नै प्रभावकारी नवचिन्तनको आवश्यकता छ ।
नेतृत्व त्यो हो जसले देशको स्रोतसाधनलाई यसरी प्रयोग गरोस् जसबाट समग्र देशमा सम्पन्नता छाओस् । १ दिन यस्तो आउनेछ जब विश्व पानीका लागि तड्पिरहेको हुनेछ तर नेपाल जलस्रोतबाट नै सम्पन्न भएको हुनेछ । तर, यसको नेतृत्व कसैले त लिनु नै पर्ने छ । के नेपालमा यस्तो नेतृत्व स्थापित होला ?
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।