म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँ पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकन गर्न गुर्जा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ ।
अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । गुर्जाका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जाबासीले पाहुनालाई फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कन्छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।
छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ । लुलाङदेखि जंगल र भीरको बाटो ८ घन्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन सिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको १० लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचार–प्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।
पैदल यात्रा मात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छ । ढोरपाटन सिकार आरक्षको घुस्तुङ र वर्षे ब्लक गुर्जामै पर्दछ । गुर्जामा यार्सा, निरमसी, पाँचऔंलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ । रासस