काठमाडौं । अहिले स्टार्ट अप (startup) क्षेत्रमा लगानीको खडेरी जारी छ । यस्तोमा भारतको स्टार्ट अप क्षेत्रबाट हजारौंले जागिर गुमाएका छन् । यस वर्षको जनवरीदेखि मार्चको अवधिमा यस क्षेत्रबाट करीब ९ हजार ४०० जनालाई कामबाट निकालिएको कर्मचारी खोजिदिने कम्पनी करियरनेटको तथ्यांकले देखाएको छ ।
उल्लेख्य संख्यामा कर्मचारी निकाल्नेमा एडटेक (Edtech) कम्पनी बाइजुज, उनाएकाडेमी, सामाजिक सञ्जाल स्टार्टअप शेयरच्याट, अपार्टमेन्ट म्यानेजमेन्ट प्लेटफर्म माइगेट र कार सर्भिसिङ कम्पनी गोमेकानिक आदि थिए । सबैमध्ये झन्डै ७० प्रतिशत स्टार्ट अपले सयदेखि तीन सयसम्मलाई कामबाट निकालेका थिए ।
यसमा डेलिभरी सेवा प्रयादक डन्जो, हेल्थटेक सफ्टवेयर स्टार्ट अप इनोभेसर र अनलाइन ट्याक्सी सेवा प्रदायक ओला आदि छन् । यो क्षेत्रमा कर्मचारी कटौती जारी नै रहने अपेक्षा गरिएको छ । गत वर्षको सोही अवधिको तुलनामा वरिष्ठ तहमा पनि कर्मचारी भर्ना करीब ८० प्रतिशतले घटेको Careernet को भनाइ छ ।
यो प्रवृत्ति फिनटेक, ई–कमर्श, एडटेक, सास र हेल्थटेक सबैतिर छर्लङ्गै छ । सन् २०२२ को सोही त्रैमासको तुलनामा मार्च त्रैमासमा ई–कमर्श र एडटेकमा नयाँ कर्मचारी भर्ना क्रमशः ९३ प्रतिशत र ८४ प्रतिशतले घटेको थियो ।
एडटेक स्टार्ट अपहरूले सबैभन्दा धेरै हजारभन्दा बढी कर्मचारीलाई कामबाट निकालेका छन् । आगामी दुई त्रैमाससम्म पनि यो अवस्थामा सुधार नआउने करियरनेटका सह–संस्थापक तथा सीईओ अंशुमान दासले बताएका छन् । एजेन्सी