नेपालमा तेस्रो पेफा मूल्यांकनको शुरुवात

चैत ७, काठमाडौं । नेपाल सरकारले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) मूल्यांकनलाई औपचारिक रुपमा शुरुवात गरेको छ ।  पेफा सचिवालय, नेपाल र विश्व बैंक, नेपालबीच सहकार्यमा नेपाल सरकारका सहसचिवको नेतृत्वमा ११ ओटा समूहमा ६१ जनालाई तालिम आयोजना गरिएको थियो ।  उक्त तालिम कार्यक्रमको उद्घाघाटन सत्रमा अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रको एमआरआई गर्ने कार्य पेफा मूल्यांकनमार्फत हुने भएकाले मूल्यांकनकर्ताहरुलाई अवसरको रुपमा लिन प्रेरित गरे ।   नेपालले यसपटक संघको मात्र नभएर चरणगतरुपमा प्रदेश तथा स्थानीय निकायको समेत पेफा मूल्यांकन गर्नेछ । संघको पेफा मूल्यांकन गर्दा लैगिंक तथा वातावरणिय पक्षको समेत मूल्यांकन गर्ने गरि सार्वजनिक वित्त व्यवस्थापन सुधार निर्देशक समितिबाट निर्णय भएको जानकारी गराए ।  कानूनीरुपमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन तथा नियमावलीमा मन्त्रीसम्मको जवाफदेहिता, आन्तरिक नियन्त्रण तथा आन्तरिक लेखापरिक्षणको व्यवस्था स्पष्ट गरिएको चर्चा गरे। साथै अहिले पूँजीगत खर्च २० प्रतिशतको हाराहारी हुँदा ३६८ अर्वको थप माग विभिन्न निकायहरुवाट अर्थमन्त्रालयमा आएको छ ।  यसरी गरिने रकमान्तरले बजेटको विश्वसनियताको पेफा मूल्यांकनमा ग्रेड कम आउन सक्ने बताए । महालेखा नियन्त्रक सुमनराज अर्यालले अर्थतन्त्रमा अहिले बाह्य प्रभाव देखापरेको सन्दर्भमा पेफा मूल्यांकन हुँदैछ यसले सुधार सधैभरि अरुको नक्कल मात्र गर्ने विषय होइन हाम्रो आफ्नो शैलिमा समेत सुधारलाई जोडदिन उपयुक्त हुन्छ र पेफालाई स्थानीय तहसम्म लैजानु पर्नेमा जोड दिए ।  राजस्व सचिव कृष्णहरि पुष्करले पेफा मूल्यांकनको सफलताको कामना गर्दै नेपालले स्व: मूल्यांकन गरि हाम्रा सुधारको मापन गर्न लागेको बताए । विश्ववैकका तर्फबाट सिनियर अपरेशन अफिसर विज्ञान प्रधानले सरकारले अपनत्व लिएर तेस्रो पेफा मूल्यांकन पेफा कार्य अगाडि बढाएको र यसवाट देखिने कमिकमजोरी सुधार गर्न विकास साझेदारले सहयोग गर्ने कुरा उल्लेख गरे ।  पेफा सचिवालय, नेपालका संयोजक थान प्रसाद पंज्ञानीले तालिम कार्यक्रम लगत्तै सबै मूल्यांकनकर्ताले राष्ट्रिय अभियानको रुपमा रहेको पेफा मूल्यांकन कार्यमा खटिन र यसलाई अन्तराष्ट्रियस्तरको बनाउन पेफा फेर्मवर्क २०१६ को ज्ञान हासिल गरि मूल्यांकनलाई वस्तुनिष्ठ बनाउन सबै मुल्यांकन कर्तालाई अनुरोध गरे ।  स्वागत मन्तव्यका क्रममा सचिवालयका सदस्य सचिव गोरखवहादुर शाहीले नेपालमा पेफा मूल्यांकन शुरुवात गर्नुमा  सन २००५ पछि बाह्य ऋण कुल ग्राहस्थ उत्पादनको अनुपात बढी रहेको र ऋणको साँवा ब्याज तिर्न वैदेशिक मुद्रा सञ्चितिको न्यूनतम पूर्ती गर्न विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषले अघि सारेका दुई विकल्पमध्ये सुधारको विकल्पको रुपमा आत्मसाथ गरेको बताए ।   एउटा विकल्प, उच्च ऋण युक्त गरीब मुलुकको पहलमा समावेश भएर विकास साझेदारको कडा शर्त पालना गरेर वैदेशिक सहयोग परिचालन गर्ने वा अर्को विकल्प, सार्वजनिक वित्त व्यवस्थापनका प्रणाली, प्रक्रिया र संरचनामा सुधार गरी आफ्नै प्राथमिकतामा वैदेशिक सहायता परिचालन गर्ने विकल्पहरु थिए । निरन्तर सुधारले गर्दा दोस्रो पेफा मूल्यांकनमा ६१ प्रतिशत सुचकहरुमा सुधार हुँदै अहिलेसम्म आइपुग्दा वैदेशिक सहायता हाम्रो प्राथमिकतामा परिचालन गर्ने गरि केही हदसम्म बजेटरी सहायता प्राप्त हुन थालिसकेको छ ।  अमेरिकाको डि सी स्थित पेफा सचिवालयले लागु गरेका पेफा फेर्मवर्क २०१६ तथा अन्य प्रकाशित कार्यविधिको पालना गरि प्रमाणमा आधारित पेफा मूल्यांकन गरिने भएकाले यसको विश्वसनियता विश्वभर कायम छ ।  फेर्मवर्क अनुसार चार फेजका १० चरणमा ७ ओटा पिलर, ३१ सुचक तथा ९४ ओटा आयामहरुको पेफा मूल्यांकन हुने गर्दछ । पेफा मूल्यांकन प्रतिवेदनले देशको वित्तिय अवस्थाको चित्रण मात्र नगरि आगामी दिनमा  गर्नुपर्ने सुधार समेत प्रस्तुत गर्दछ ।  पेफा सचिवालयले प्रतिवेदनमा आधारित भएर सार्वजनिक वित्तिय व्यवस्थापन सुधार रणनीति तथा कार्यक्रम तयार गरि सबै सरोकारवालाहरुसँग सहकार्य गरि सुधारलाई संस्थागत गर्ने पद्दति अंगिकार गरेको छ । हालसम्म करीब १५५ देशले ७२९ पटक पेफा मूल्यांकन गरिसकेका छन् ।