१२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरेर मासिक डेढ लाख रुपैयाँ कमाउँदै विद्यालय

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ रुपैयाँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो ।  उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच त्यहाँ तरकारी बजार स्थापनाका लागि सम्झौता भएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले १ लाख ५७ हजार रुपैयाँ आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए । यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो । उपमहानगरपालिकाले आफूले उठाएको करीब ४४ लाख रुपैयाँ विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । २ करोड ३३ लाख रुपैयाँमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा ५ हजार ५ सय रुपैयाँ कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ । रासस