एमाले बाहेक अरु दलसँग ‘मूलुक बनाउनुपर्छ’ भन्ने भावना छैनः उपमहासचिव पौडेल

नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले मूलुकमा आर्थिक समृद्धि हासिल गर्ने कार्यभारको मूल नेतृत्व एमालेले गर्ने बताएका छन् । पार्टीको भातृ संस्था ‘नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ’ को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले उद्योगी व्यवसायी मैत्री कानुन र लगानी मैत्री वातारण निर्माण गर्न एमाले बाहेक अन्य दलले नसक्ने बताएका हुन् ।‘नेपालको समृद्धिको, विकासको, सामाजिक न्यायको र समाजवादको नेतृत्व एमालेले गर्नेछ’ उनले भने, ‘यसका लागि उद्योगी व्यवसायी साथीहरु अग्र पंक्तिमा लाग्नुपर्नेछ, तपाईहरुलाई उद्यम गर्न, व्यवसाय गर्न आईपरेका कानुनी अड्चन पार्टी स्पष्ट बहुमतका साथ सरकारमा पुगेपछि फुकाउनेछ, यसका लागि कम्तीमा तपाईहरुले चुनावसम्म धैर्यता राख्नुपर्ने हुन्छ ।’पूर्व अर्थमन्त्रीसमेत रहका नेता पौडेलले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पार्टीमा भएकै कारण एमालेले समृद्धिको सपना देखेको भन्दै उक्त सपना पूरा गर्न सबै उद्योगी व्यवसायी यो महासंघमा एकतावद्ध हुनुपर्ने पनि बताए ।उनले उद्योगी व्यवसायीका समस्या महासंघमार्फत पार्टी नेतृत्वका सामू लिएर आउन आग्रह गर्दै ती समस्या समाधान गर्न पार्टी सधैँ तयार रहेको पनि बताए । विगतमा अन्य भातृ संस्थाले राजनीतक आन्दोलनको नेतृत्व सम्हालेको स्मरण गर्दै पौडेलले अब राष्ट्रिय उद्योग व्यवसाय महासंघले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानको नेतृत्व गर्ने पनि बताएका छन् ।यसै प्रशंगमा उनले एमालेबाट छुट्टिएर गएका र सत्ता सञ्चालनमा रहेका ५ दलले विकास, समृद्धि र देशको स्वाभिमानका विषयमा कहिल्यै कुरा नगरेको भन्दै मूलुक बनाउनुपर्छ भन्ने भावना एमाले बोहक अरु दलसँग नभएको पनि दाबी गरे ।कार्यत्रलममा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका इन्चार्ज लेखराज भट्ट पनि उपस्थित थिए ।