पुस १, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओ बीच बिहीवार महासंघ सचिवालयमा भेटवार्ता भएको छ ।
सो अवसरमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भएको थियो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन वाह्य सहयोगको आवश्यकता रहेकोमा जोड दिएका थिए ।
उनले कोरोना महामारी शुरु भएको दुई वर्षमा नेपाली अर्थतन्त्रले निकै धेरै चुुनौतीको सामना गर्नु परेको पनि बताए ।
सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण नेपालको अर्थतन्त्र ठूलो दूर्घटनाबाट जोगिएको भन्दै उनले अझै खतरा भने टरि नसेककाले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताए ।
नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि उनले सो अवसरमा आग्रह गरे ।
सोही अवसरमा राजदूत जिल बुर्बाओले महासंघले अगाडी सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नविकरणीय उर्जा, कृषिको उत्पादकत्व वृद्धि, पर्यटन, विद्युतीय सवारी साधनलगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।
भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूूतावासका चार्ज डि मिसन दिपेश कुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको पनि सहभागिता रहेको थियो ।