अनलाइन भुक्तानी सेवाप्रदायकलाई बीमा अभिकर्ता बनाउने तयारी

काठमाडौं । बीमा समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई पनि संस्थागत बीमा अभिकर्ता अनुमतिपत्र (लाइसेन्स) दिने तयारी गरेको छ । हालसम्म समितिले बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र संस्थागत बीमा अभिकर्ताको इजाजत दिँदै आएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ताको इजाजत दिने तयारी गरिएको बताए । हाल सञ्चालनमा रहेका ईसेवा, आईएमई पे, प्रभुपे खल्तीलगायत अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ता बनाउन नीतिगत रूपमा बाटो खुला गरिने उनको भनाइ छ । ‘अब हुने सञ्चालक समितिको बैठकमा यो प्रस्ताव पेश हुँदै छ । सञ्चालक समितिबाट निर्णय भएपछि भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ता हुन बाटो खुला हुनेछ,’ उनले भने, ‘अबको १/२ दिनमा नै यस विषयमा निर्णय हुन्छ ।’ बीमा समितिले नीतिगत रूपमा निर्णय गरेपछि त्यस्ता संस्थाहरू आफूले इच्छाएको बीमा कम्पनीको संस्थागत अभिकर्ता बनेर बीमा गराउने काम गर्न सक्नेछन् । कोरोना विपद्मा बीमा व्यवसाय गर्न सहज बनाउने उद्देश्यअनुसार भुक्तानी प्रदायक संस्थाहरूलाई अभिकर्ता बनाउन लागिएको उनको भनाइ छ । ‘अहिले कोरोनाको जोखिम र निषेधाज्ञाका कारण ग्राहकलाई प्रत्यक्ष भेटेर व्यवसाय गर्न सकिएको छैन । यस अवस्थामा अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई अभिकर्ता बनाउन सके अनलाइनमार्पmत पनि बीमा व्यवसाय गर्न सकिन्छ,’ उनले भने, ‘साथै, बीमाशुल्क भुक्तानी गर्न पनि सहज हुन्छ ।’ यस कदमले बीमाको पहुँच बढाउन पनि सहयोग पुग्ने उनको भनाइ छ । ‘अहिले कोरोना विपद्का कारण बीमाको पहुँच बढाउन समस्या भइरहेको छ । व्यक्तिगत बीमा अभिकर्ताहरू फिल्डमै गएर बीमा गराउन सकेका छैनन्,’ उनले भने, ‘यस अवस्थामा अनलाइन भुक्तानी प्रदायक संस्थाहरूलाई अभिकर्ता बनाउन सके बीमा व्यवसाय अनलाइनमार्फत गर्न पनि सहज हुनेछ । फलस्वरूप बीमा पहुँच बढ्न मद्दत पुग्ने देखिन्छ ।’ सरकारले बजेटमार्फत बीमा पहुँच ३३ दशमलव ३३ प्रतिशत जनतामा पुर्‍याउने लक्ष्य लिएको छ । अहिले बीमाको पहुँच २३ दशमलव ४० प्रतिशत जनतामा छ । कोरोनाको विपद् जारी रहेको अवस्थामा सरकारको उक्त लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण छ । त्यसैले बीमा व्यवसायलाई सहज रूपमा अगाडि बढाउन यस्तो निर्णय गर्न लागिएको उनको भनाइ छ । बीमा व्यवसायमा अभिकर्ता भनेको अभिन्न अंग हो । अभिकर्ताहरूले नै ग्राहककहाँ गएर बीमा गराउने गर्छन् । त्यसैले बीमा व्यवसाय बढाउनमा अभिकर्ताको नै महŒवपूर्ण भूमिका हुन्छ । हाल नेपालमा व्यक्तिगत र सस्थागत गरेर दुई प्रकारका बीमा अभिकर्ता छन् । अहिले बैंक तथा वित्तीय संस्थाले मात्र संस्थागत बीमा अभिकर्ताको काम गर्दै आएको पाइन्छ

सम्बन्धित सामग्री

कम्पनीहरू संस्थागत बीमा अभिकर्ता हुन पाउने

काठमाडौं (अस) । नेपालमा सञ्चालित कुनै पनि कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउने भएका छन् । बीमा समितिले बुधवार संस्थागत बीमा अभिकर्तासम्बन्धी निर्देशिका २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । त्यस्ता कम्पनीहरूले आप्नो विधान, प्रबन्धपत्र तथा नियमावली संस्थागत बीमा अभिकर्ताको काम गर्ने भनेर उल्लेख गरेको हुनुपर्ने बताइएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै कम्पनीले संस्थागत बीमा अभिकर्ताको काम गर्न पाउनेगरी निर्देशिका जारी गरेको बताए । ‘कम्पनीहरूले विधान, प्रबन्धपत्र तथा नियमावलीमा संस्थागत बीमा अभिकर्ताको काम गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । त्यसपछि समितिबाट इजाजतपत्र लिएर संस्थागत अभिकर्ताको काम गर्नु सक्नेछन्,’ उनले भने, ‘कम्पनीको सञ्चालक वा व्यवस्थापक मध्येबाट कुनै एक जनाले बीमा समिति वा सम्बन्धी बीमा कम्पनीबाट अभिकर्ताको तालीम पनि लिनुपर्ने छ ।’ तालीम लिने व्यक्ति भने कम्तीमा एसईई तह उत्तीर्ण गरेको हुनुपर्ने उनले बताए । समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ताको इजाजतपत्र दिन यस्तो व्यवस्था गरेको बुझिएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले मात्र संस्थागत बीमा अभिकर्ताको काम गर्दै आएका छन् । अब अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई पनि संस्थागत बीमा अभिकर्ता बनाउन नयाँ निर्देशिका ल्याइएको बताइएको छ । तर, त्यस्ता संस्थाहरूलाई उनीहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकबाट पनि आवश्यक स्वीकृति लिनुपर्ने हुन सक्ने जानकारहरू बताउँछन् । संस्थागत बीमा अभिकर्ताहरूले विद्युतीय प्रणालीमार्फत कारोबार गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । बीमितबाट बीमाशुल्क संकलन गरेर बीमा कम्पनीलाई भुक्तानी गर्ने, बीमा प्रस्ताव फारम भर्नेलगायत सम्पूर्ण काम विद्युतीय माध्यमबाट गर्न सक्ने निर्देशिकामा उल्लेख छ । तर, विद्युतीय कारोबार गर्न संस्थागत अभिकर्ताले सम्बद्ध निकायबाट अनुमति लिनुपर्ने छ । उनीहरूले ग्राहकलाई विद्युतीय माध्यमबाट नै सेवा लिन बाध्य पार्न पनि नपाउने निर्देशिकामा उल्लेख छ । विद्युतीय कारोबार गर्दा बीमितले अभिकर्तालाई बुझाएको समयदेखि नै बीमा अवधि शुरू हुने बताइएको छ । अभिकर्ताले कम्पनीलाई उक्त रकम भुक्तानी नगरे पनि बीमा अवधि शुरू हुनेछ ।

नेपाल लाइफ इन्स्योरेन्स २१औं वर्षमा, चुक्तापूँजी ७.१९ अर्बभन्दा बढी

वैशाख २१, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको  बताएको छ ।             कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले २१औं वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् ।             साथै उनले कोरोना भाइरसको महामारीमा पनि सरलरुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसूर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।             कम्पनीले बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको पनि बताएको छ । साथै कम्पनीले प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिने बताएको छ ।             कम्पनीमा सर्वाधिक लगानी १११ दशमलव ४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक शेयरधनी कोष ८ अर्ब ८५ करोड रुपैयाँभन्दा बढिरहेको कम्पनीले बताएको छ । कम्पनीको सर्वाधिक चुक्तापूँजी ७ दशमलव १९ अर्बभन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढी सर्वाधिक बजार पूँजीकरण रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।             कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११ दशमलव ९८ अर्ब रुपैयाँ, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९ दशमलव ७७ अर्ब रुपैयाँ तथा सर्वाधिक मृत्यु दाबी ३ दशमलव ७३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ ।             कम्पनीमा १ लाख ७६ हजार ४३ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् भने कम्पनीले आफ्ना सेवाग्राही तथा देशभर हाल २००  ओटा शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको बताएको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगारसमेत गरी २८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित भइसकेका छन् ।