धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गर्नको लागि फेरी आवेदन आह्वान, पहिलेको आवेदन के हुन्छ ?

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नको लागि फेरी आवेदन माग गरेको छ । अध्यक्ष नियुक्तिको लागि गठन भएको सिफारीस समितिले आज पुस १५ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो ।  यस अघि अर्थ मन्त्रालयले समिति बनाएको र सो समितिमाथि कानुनी प्रश्न उठेपछि मन्त्रिपरिषद्को बैठकले अर्को समिति बनाएको थियो। हाल बनेको समितिमा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यको रुपमा डा. जीवनाथ धिताल रहेको अर्थ मन्त्रालयले जनाएको छ । यस अघिको समितिमा विज्ञ सदस्यको रुपमा प्रा. डा. नारायण पौडेल रहेका थिए ।नयाँ समिति बनेसंगै अब समितिले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि पुन आवेदन खुलाएको हो । समितिले १५ दिन अर्थात् पुस २९ गतेभित्र आवेदन दिन आग्रह गरेको छ । साथै यस अघि आवेदन दिएकाले पनि नयाँ सूचना अनुसार फेरी आवेदन दिनु पर्ने भएको छ । अघि अघि आवेदन दिएकाले आवेदन फिर्ता लिन चाहेमा १५ दिन भित्र निवेदन दिएर फिर्ता गर्न सकिने र आवेदन फिर्ता गर्दा राजश्व पनि फिर्ता हुने समितिले जनाएको छ । समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि  योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने ब्यबस्था छ ।  बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।यस अघिको समितिले आवेदन आह्वान गर्दा बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई, अनिल पौडेल ,  अम्बिका लामिछाने र शेयर बजार विश्लेषकको रुपमा परिचित हेमन्त बस्यालको आवेदन परेकोथियो । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकार बर्खास्त गरेपछि नयाँ अध्यक्ष नियुक्ति हुन लागेको हो ।   

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि फेरी आवेदन खुल्ने

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि फेरी छनौट तथा सिफारिस समिति बनाउने भएको छ । यस अघि छनौट गरिएको समितिमा विवाद देखिएपछि सरकारले फेरी समिति गठन गर्ने र पुन: आवेदन आह्वान गर्ने भएको हो।धितोपत्र समबन्धि ऐनमा नेपाल सरकारले छनौट समिति बनाउने पर्ने उल्लेख गरिएको र अहिलेको समिति अर्थ मन्त्रालयले बनाएको तथा मन्त्री स्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै समितिमा सुरु देखि नै विवाद भएको थियो । समितिले आवेदन माग गर्दा आवेदन दिएका केहि उम्मेदवारले पनि अर्थमन्त्री तथा अर्थ सचिवलाई भेटेर पछि कानुनी प्रश्न उठ्न सक्ने भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर समिति बनाउन र फेरी आवेदन खुलाउनको लागि आग्रह गर्न गएका थिए । सोहि अनुसार अब मन्त्रिपरिषद्को बैठकले छनौट समिति बनाउने अर्थ मन्त्रालय स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार नयाँ समिति बनेपछि उक्त समितिले फेरी आवेदन आह्वान गर्ने छ । यस संगै यस अघिका आवेदन सबै खारेज हुने भएको छ । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति बनाउनु पर्ने ऐनमा ब्यबस्था छ । यस समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने ब्यबस्था छ। यस अघि आवेदन आह्वान हुँदा १० जनाले आवेदन दिएका थिए ।